प्रश्न : किन जम्छ कलेजोमा बोसो? के-के समस्या निम्त्याउँछ? कसरी बच्ने?
डा दिलिप शर्माको उत्तर : कलेजोका कोषहरुमा ट्राइग्लीसाइड तथा अन्य वोसोजन्य पदार्थ थुप्रिनुलाई ‘फ्याट्टी लिभर’ भनिन्छ। कलेजोमा बोसोपनाको निर्धारण वोसो आउने र हट्ने प्रक्रियाको समीकरणले गर्छ। केही बिरामीमा फ्याट्टी लिभर सँगसँगै कलेजोको सुजन तथा कलेजोका कोषको मृत्यु हुने अवस्था पनि देखिन्छ। यसलाई स्टिएटोहेपाटाइटिस भनिन्छ।
कलेजोमा बोसोपना बढ्नु पछिल्लो समयमा शहरीकरणसँगै बढेको समस्या हो। यसले भविष्यमा विकराल रूप नै लिने खतरा देखिन्छ। कलेजोमा बोसोपना बढ्नु विभिन्न शारीरिक प्रक्रियाको उपज हो। फ्याट्टी लिभरले विशेषतः मेटावोलिक सिन्ड्रमसँग सरोकार राख्छ। मेटावोलिक सिन्ड्रम भन्नाले मधुमेह, अत्याधिक मोटोपना र ट्राइग्लिसिराइड बढ्नुलाई बुझाउँछ। केही औषधिको सेवन पनि फ्याट्टी लिभरको कारक बनेको हुनसक्छ। मेथोट्रेक्सट, एमियोडारोन आदि औषधिले फ्याट्टी लिभरलाई सहयोग गर्छन् । फ्याट्टी लिभर प्रायः सबै उमेर समूहमा देखिन्छ। आजभोलि ननअल्कोहोलिक फ्याट्टी लिभर डिजिजले संसार भरी नै चर्चा पाएको छ।
फ्याट्टी लिभरका कारण
फ्याट्टी लिभरलाई यहाँ दुई प्रकारले वर्णन गर्ने प्रयास गरिएको छ। एउटा, रक्सीजन्य पदार्थले हुने फ्याट्टी लिभर अर्थात् अल्कोहलिक फ्याट्टी लिभर। अर्को, रक्सी सेवन नगर्ने व्यक्तिमा देखिने फ्याट्टी लिभर अर्थात् ननअल्कोहलिक फ्याट्टी लिभर।
ननअल्कोहोलिक फ्याट्टी लिभर डिजिज
ननअलकोहोलिक फ्याट्टी लिभर शहरीया जनसंख्याको करिब २० प्रतिशतमा पाइन्छ। मोटोपना, मधुमेह, उच्च रक्तचाप, नियमित रुपमा प्रयोग गरिने केही औषधि (जस्तै स्टेरोइड, एमीयोडारोन तथा केही केमोथेरापीमा प्रयोग हुने औषधि) का कारण ननअलकोहोलिक फ्याट्टी लिभर देखा पर्छ। जंकफुड तथा कार्वोनेटेड सफ्ट डिं«क पनि यो समस्या बढ्नुका कारण हुन्। मेटावोलिक सिन्ड्रम अर्थात् अत्याधिक मोटोपना, इम्पेरडग्लुकोज टोलरेन्स र हाइपर ट्राइग्रिलीसीरेडिमिया भएका व्यक्तिमा फ्याट्टी लिभर ४ देखि ११ गुणा बढी देखिन्छ।
लक्षण
ननअल्कोहलिक फ्याट्टी लिभरका बिरामीमा प्रायः लक्षण देखिँदैन। केही व्यक्तिमा पेटको दाहिने माथिल्लो भागमा अप्ठ्यारो महसुस हुनु यसको मुख्य लक्षण हो। करीब ७५ प्रतिशत जति व्यक्तिमा कलेजो ठूलो हुने लक्षण देखिन्छ। ल्याब परीक्षण गर्दा लिभर इनजाइम एएलटी र एएसटी बढेको देखिन्छ। रोग बढ्दै गएर फाइब्रोसिस हुने र केहीलाई लिभर सिरोसिस हुन लागेको भए एएलटी र एएसटी कम हुन्छ।
अल्ट्रासाउण्ड, सिटिस्क्यान, एमआरआईजस्ता रेडियो इमेजिङ टेक्नोलोजीबाट ननअल्कोहलिक फ्याट्टी लिभर पत्ता लगाउन सकिन्छ। आजभोलि फाइब्रोस्क्यान प्रविधिबाट कलेजोको कडापन मापन गरेर फाइब्रोसिसको अवस्था निर्धारण गर्ने गरिन्छ। हाम्रो देशमा पनि काठमाडौंको सेन्टर फर लिभर डिजिजमा यो सुबिधा उपलब्ध छ। जुन परीक्षणको मद्दतले ननअल्कोहोलिक लिभरका बिरामीलाई फाइब्रोसिस तथा सिरोसिस् हुनबाट समयमै बँचाउन सकिन्छ। लिभर वायोस्पी गरेर कलेजोको सुजन तथा फाइब्रोसिसको अवस्था पत्ता लगाउन सकिन्छ। तर यो इन्भेसिभ प्रविधि भएकोले फाइब्रोस्क्यान भन्ने प्रविधिले आजभोलि यसलार्ई विस्थापित गरेको छ।
उपचार
फ्याट्टी लिभरको खास कुनै उपचार छैन। सर्वप्रथम के कारणले रोग शुरु भएको हो, त्यो नै बन्द गर्नेतिर लाग्नुपर्छ। जस्तै रक्सीले गर्दा हो भने रक्सी पिउनै बन्द गर्नुपर्ने हुन्छ। घरमा बसेर आराम बढी गर्नु हुँदैन। आफ्नो जीवनशैली परिवर्तन गर्नु नै यो रोगको मुख्य उपचार हो। चिकित्सकीय उपचारका क्रममा चाहिँ हामी उर्सोडेक्सिकलिक एसिड, ओमेगा ३, फ्याट्टी लिभर एसिड तथा स्टाटिनहरु प्रयोग गर्दा फ्याट्टी लिभरमा सुधार आउँछ। अल्कोहोलिक फ्याट्टी लिभरका बिरामीमा राम्रो र तागतिलो खाना सँगसँगै भिटामिन बीको प्रयोग, मिनरल्स तथा ट्रेस इलिमेन्ट्स्को प्रयोग गर्नाले फाइदा हुन्छ।
रोकथाम
– स्वस्थ जीवनशैली अपनाउने
– फ्याट्टी लिभरका बिरामीहरुले रक्सी सेवनविल्कुलै नगर्ने
– गुलियो, बिशेष गरी सोडा तथा प्रिजरभेटीम भएका खाना नखाने
– नियमित रूपमा शारीरिक व्यायाम गर्ने
– ठिक मात्रामा मात्र खाना खाने
जीवनशैलीमा परिर्वतन गरियो र नियमितरूपमा स्वस्थकर खाना खाएमा फ्याट्टी लिभर ठीक हुन्छ। फ्याट्टी लिभरको शुरुमै पहिचान गरी यसलाई बढ्न नदिएमा यसले कलेजोमा दीर्घकालीन असर पुर्याउँदैन। तर शुरुमै सतर्कता अपनाइएन र सिभिएर फ्याट्टी लिभर भएका व्यक्तिले रक्सी सेवनलाई निरन्तरता दिए ज्यानसमेत जान सक्छ। यसर्थ कलेजोका गम्भीर रोग लिभर सिरोसिस र कलेजोको क्यान्सर हुन नदिनका लागि शुरुमा फ्याट्टी लिभर देखिएका व्यक्तिले सचेत भई चिकित्सकीय सहयोग र जीवनशैलीमा आमूल परिवर्तन गर्नु जरुरी देखिन्छ।
फ्याट्टी लिभरका बिरामीले ध्यान दिनुपर्ने कुरा
– दिनमा ३ किलोमिटर वा ३० मिनेट छिटोछिटो हिड्ने
– तारेको, फ्राइ गरेको, बोसो र घिउ नखाने
– रक्सी, वियर र वाइन नखाने
– तौल कम गर्ने
– गुलियो कम गर्ने