काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी विश्वासको मत पाउन असफल भएका छन्। संघीय सरकारको पूर्व स्वास्थ्यमन्त्री समेत रहेका मुख्यमन्त्री अधिकारीले शनिबार प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथि मतदान भएको थियो।
प्रदेश सभामा शनिबार भएको मतदानमा अधिकारीको प्रस्तावको पक्षमा केवल २४ मत पाए। ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि न्यूनमत ३१ मत पाउनुपर्ने थियो। मतदानमा ५९ सांसद सहभागी भएको सभामुख कृष्णप्रसाद धितालले जानकारी गराए। विपक्षमा भने ३५ मत परेको छ।
पुस २५ गते मुख्यमन्त्री नियुक्त भई त्यसै दिन सपथ लिएर कार्यभार सम्हालेका मुख्यमन्त्री अधिकारीले शनिबार दोस्रो पटक विश्वासको मत लिएका हुन्। माओवादी केन्द्रले गत चैत १० गते सरकार छाड्दै समर्थन फिर्ता लिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिएका हुन्।
यसअघि मुख्यमन्त्री अधिकारीले पुस २९ मा विश्वासको मत लिएका थिए। त्यतिबेला विश्वासको मतका लागि प्रस्तुत गरेको प्रस्तावको पक्षमा ३१ मत खसेको थियो। विपक्षमा भने २७ मत खसेको थियो।
शनिबार प्रदेश सभाको पहिलो बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसक्रममा उनले संघीयताको मर्म बमोजिम नेपालको संविधानको सहज कार्यान्वयन गर्दै प्रदेशको समग्र विकास र समृद्धितर्फ प्रयत्नरत आफू नेतृत्वको सरकारलाई राजनीतिक स्थिरता, संघीयताको कार्यान्वयन, कानुनको शासन तथा न्यायमूलक शासन प्रणाली, मानव अधिकार तथा नागरिक हकहितको रक्षा, लोक कल्याणकारी प्रदेश निर्माण, आर्थिक समृद्धि, समतामूलक विकासका लागि पुनः विश्वासको मत दिन आग्रह गरेका थिए।
प्रस्तावमाथिको छलफलमा एमालेका लिलबहादुर थापामगर, राप्रपाका सांसद/मन्त्री पञ्चराम गुरुङ, माओवादी केन्द्रका हरिबहादुर चुमान र कांग्रेसका सुरेन्द्रराज पाण्डेले भाग लिएका थिए। त्यसक्रममा एमाले र राप्रपा मात्रै सरकारको पक्षमा उभिएका थिए। दोस्रो बैठकमा अधिकारीले छलफलमा क्रममा उठेका प्रश्नहरुको जवाफ दिएका थिए। दोस्रो बैठकमा प्रस्तावमाथि मतदान भएको हो।
विश्वासको मत पाउन असफल भएसँगै अधिकारी नेतृत्वको सरकार १०४ दिनमै ढलेको छ। २०७९ मंसिर ४ को निर्वाचनपछि गठन भएको प्रदेश सरकार ढलेको यो दोस्रो उदाहरण हो। यसअघि सुदूरपश्चिम प्रदेशमा गठन भएको एमाले नेतृत्व सरकार पनि पहिलो पटक नै विश्वासको मत पाउन नसकेर ढलेको थियो।
गण्डकी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले सरकार बनाउने तयारी गरिरहेका छन्। गत वैशाख ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान लगायत सहभागी बैठकले गण्डकी प्रदेश सरकारमा आलोपालो नेतृत्व गर्ने सहमति गरेको बताइएको छ।