काठमाडौं- नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई सरकारले वैशाख १५ र ३१ गते खोप लगाउने भएको छ।
खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिका लागि मन्त्रालयले वृहत खोज र खोप अभियान गर्न लागेको हो। विश्वभर अप्रिल २४ देखि ३० सम्म विश्व खोप सप्ताह मनाउने गरिन्छ।
नेपालमा भने खोप छुटेका बच्चाको पहिचान गरी खोप पुरा गराई नियमित खोपको सुदृढीकरण तथा पूर्णखोप सुनिश्चितताको लागि वैशाखलाई पूर्ण खोप महिनाको रुपमा मनाउन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा अभियान गौतमले बताए।
अघिल्ला आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा नियमित खोप कभरेज बढेपनि सबै तहमा एकरुपता, ड्रपआउट अर्थात् आधा मात्रै खोप लगाउनेको सङ्ख्या न्यूनीकरण, खोप खेर जाने सङ्ख्या न्यूनीकरण, विनियोजित क्रियाकलापको प्रभावकारी संचालन हुन जरुरि भएको उनी बताउँछन्।
त्यस्तै परिवार कल्याण महाशाखाका खोप अधिकृत भरत भण्डारी पूर्ण खोपको कार्यान्वयन लागि फरकफरक किसिमले काम गरिरहेको बताउँछन्।
'हामीले अहिले विद्यालय भर्ना कार्यक्रममा खोप कार्ड देखाउनुपर्ने र त्यो भए नभएको अनुगमन गर्ने, सामाजिक सञ्जालहरुमा सूचना तथा सबै जिल्लाहरुमा एफएम, रेडियोबाट सूचना प्रशारण गरिरहेको, समुदायमा अन्तरक्रिया, बच्चाको सुची संकलन लगायतका काम गरिरहेका छौँ,' उनले भने।
बालबालिकाहरुले पूर्ण खोप नलगाए कोही पनि सुरक्षित नहुने भएकाले यो अभियान सुरु भएको उनले बताए।
बालबालिकाहरु आफैं खोप कार्यक्रममा सहभागी हुन नसक्ने हुँदा परिवारले पूर्ण खोपको महत्व बुझेर यो अभियानमा सहभागी हुन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।