काठमाडौ- साउदी अरेबियास्थित साउदी बेस मल्टि नेसनल हस्पिटल ग्रुपको डा सुलिमान अल हबिब हस्पिटल ग्रुपले दुई सय नेपाली नर्स माग गरेको छ।
मनास्लु इन्टरनेशनल सर्भिसले बुधबार काठमाडौंमा एक कार्यक्रम गरि यस वर्षका लागी साउदी बेस मल्टि नेसनल हस्पिटल ग्रुपको डा सुलिमान अल हबिब हस्पिटल ग्रुप (एचएमजी) ले दुई सय नेपाली नर्स माग गरेको जानकारी दिएको हो।
एचएमजीले हाल नेपाली नर्सहरुलाई मासिक एक लाख २० हजार देखि दुई लाखसम्म पारिश्रमिक दिएको मनास्लु इन्टरनेशनल सर्भिसका प्रमुख बालकृष्ण श्रेष्ठले बताए।
अस्पताल व्यवस्थापनले सेवा विस्तार गर्न थप नर्सको आवश्यकता भएपछि नेपाली नर्स लैजाने निर्णय गरेको हो। अस्पतालले आफ्ना बिरामीहरूलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेकोले नेपाली नर्सको माग गरेको हो।
सन् २०१९ बाट नेपाली नर्सहरु साउदीका विभिन्न अस्पतालमा कार्यरत रहेका छन्। साउदीका अस्पतालमा हाल एक हजार ९ सयभन्दा बढी शय्या, १३ हजार कर्मचारी र दुई हजार ७५० कन्सल्टेन्ट चिकित्सकहरुले बिरामीको सेवा गरिरहेका छन्।
उक्त अस्पतालले विगत एक वर्षदेखि ४० नेपाली नर्सहरूलाई रोजगारी दिँदै आएको छ। अस्पताल व्यवस्थापनले उत्कृष्ट प्रतिभालाई आकर्षित गर्न शतप्रतिशत निःशुल्क भर्ती गर्ने निर्णय गरेको छ।
साउदी अरेबियाको सरकारको मापदण्ड अनुसार साउदी अरेबियामा नर्सको रूपमा काम गर्न योग्य हुन नर्सहरूसँग एक वर्षको क्लिनिकल अनुभव हुनुपर्छ। यद्यपि, अस्पतालले अब एनएनसी लाइसेन्स भएका नर्सिङका नयाँ स्नातकहरूलाई अवसर प्रदान गरिरहेको छ।
अस्पतालले एक वर्षको ओपन डाउन टिकट, आवास, शतप्रतिशत कभर मेडिकल इन्स्योरेन्स उपलब्ध गराउने छ। नर्सहरूको लागि भिसा लागत, सरकारी शुल्क, ज्वाइनिङ टिकट र अन्य खर्च वहन पनि अस्पतालले नै गर्नेछ।