काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले थारु समुदायमा देखिएको वंशाणुगत रोग सिकल सेल एनिमियाको निदानका लागि आवश्यक थप अनुसन्धानमा अन्तर्राष्ट्रिय साथ र सहयोगका लागि आग्रह गरेका छन्।
संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२औं सत्रलाई सम्बोधन गर्दै मन्त्री मोदीले सिकलसेल एनिमियाको विषयमा आफ्नो भनाइ राखेका हुन्।
सिकलसेल एनिमियाको विषय आफू थारु समुदायकै भएका कारणले पनि अन्तर्राष्ट्रिय समुदायमा पुर्याउनु आफ्नो दायित्व भएको बताउँदै मन्त्री मोदीले भने, ‘यो रोगको रोकथामका लागि नेपाल सरकारले निभाउनुपर्ने दायित्व निभाइरहेको छ। भविष्यमा यसको थप अनुसन्धानका सन्दर्भमा अन्तर्राष्ट्रिय साथ र सहयोग आवश्यक रहन्छ।’
लामो संघर्षपछि २०७२ सालमा नेपालले प्रगतीशिल संविधान पाएको बताउँदै मन्त्री मोदीले संविधानमा समावेशी र समानुपातिकताको व्यवस्था भएको समेत उल्लेख गरे। आफू सम्बद्ध पार्टी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकारको पक्षधरता भएको मन्त्री मोदीले उल्लेख गरे।
‘प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार सुशासन कायम गर्न र आदिवासी जनजातिहरुको हक अधिकार थप सुनिश्चित गर्न पूर्ण रुपमा प्रतिबद्ध छ,’ मोदीले भने।