काठमाडौं- प्राविधिक परीक्षण नहुँदा ४० लाख डोज सिनोभ्याक खोप म्याद सकिने अवस्थामा पुगेको छ।
स्वास्थ्य सेवा विभागका अनुसार चीनबाट अनुदानमा प्राप्त भएको ४० लाख डोज सिनोभ्याक प्राविधिक परीक्षण नभएकोले प्रयोग भएको छैन। उक्त खोपको म्याद समाप्त हुने अवधि करीब १० महिना मात्रै बाँकी छ।
विभागबाट प्राप्त विवरण अनुसार कोभ्याक्स सुविधा, अन्य अनुदान र नेपाल सरकारबाट खरिद गरेको समेत ५ करोड ८८ लाख ९१ हजार ९७० डोज खोपमध्ये ३७ प्रतिशत खरिद गरेको, ३३ प्रतिशत कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध भएको र ३० प्रतिशत विभिन्न दातृराष्ट्रले अनुदानमा उपलब्ध गराएको देखिएको छ।
प्राप्त खोपमध्ये ३४ प्रतिशत भेरोसिल, १६ प्रतिशत कोभिसिल्ड र अन्य ५० प्रतिशत रहेको छ।
भारतको एक कम्पनीबाट कोभिसिल्ड १० लाख डोज र चीनको एक कम्पनीबाट भेरोसिल १ करोड डोज, गाभी एलाइन्ससँगको सम्झौताअनुसार ५९ लाख ३६ हजार ४०० डोज, कोभ्याक्स कस्टशेयरिङ अन्तर्गत मोडर्ना खोप ४० लाख ८०० डोज समेत २ करोड १९ लाख ३७ हजार २०० डोज खोप खरिद गरेको छ।