काठमाडौं- कान्ति बाल अस्पतालमा सामान्य अप्रेशन गर्न पनि ३ महिनादेखि १ वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको छ।
महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनले अस्पतालमा सामान्य अप्रेशन गर्न पनि ३ महिनादेखि १ वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको जनाएको छ।
यस्तै हाइड्रोशिलको अप्रेशन गर्न ६ महिनादेखि २ वर्ष, मेजर अप्रेशन गर्न ६ महिनादेखि २ वर्षसम्म पालो पर्खनुपर्ने अवस्था छ।
अस्पतालमा २ मात्र शल्यचिकित्सा कक्ष रहेको छ। अस्पतालमा १६ शय्याको आईसीयू र ३० शय्याको सर्जिकल वार्ड रहेकोमा १० र २४ शय्या मात्र सञ्चालनमा रहेका छन्। जसले गर्दा आईसीयू चाहिने बिरामीलाई शय्या अभाव भएर अन्यत्र प्रेषण गर्नुपर्ने बाध्यता छ।
आइतबारदेखि शुक्रबारसम्म दैनिक बिहान ८ बजेदेखि १ बजेसम्म ओपीडी टिकट वितरण गरी बहिरङ्ग सेवा लिन आउने बिरामीको बिहान १० बजेदेखि बिरामी जाँच कार्य सुरु गरेपनि चिकित्सकको सेवा लिन बिरामीले कम्तीमा ३ देखि ४ घण्टासम्म कुर्नुपर्ने अवस्था छ।
बाल स्वास्थ्यसम्बन्धी अध्ययन, अनुसन्धान केन्द्रको रूपमा संस्थागत विकास गर्ने उद्देश्यले २०१९ मा स्थापित अस्पताल बालबालिकासम्बन्धी उपचार सेवा प्रदान गर्न ३५२ शय्यासहित केन्द्रीय बाल अस्पतालको रूपमा सञ्चालन हुँदै आएको छ।
अस्पताल विकास समितितर्फको कुल आय गत वर्षको मौज्दात समेत ७५ करोड ५४ लाख ४५ हजार रहेकोमा ५६ करोड ३२ लाख ११ हजार (७४.५५ प्रतिशत) खर्च भएको छ। आन्तरिक आम्दानी २३ करोड ७९ लाख ९७ हजार रहेकोमा तलब भत्तामा मात्र १२ करोड ६९ लाख ४९ हजार (५३.३४ प्रतिशत) खर्च भएको छ।
अस्पतालमा विकास समितितर्फ चिकित्सक, नर्स, पारामेडिक्स र अन्यसमेत २९६ को दरबन्दी स्वीकृत भएकोमा १५० कार्यरत छन्।
यस्तै रिक्त दरबन्दीमा करार तथा ज्यालादारीबाट कार्यसञ्चालन गरिएको छ। नेपाल सरकारतर्फ ७८ चिकित्सक, १०६ नर्स र अन्यसमेत २६४ को दरबन्दी रहेकोमा चिकित्सक ४९, नर्स ४२ समेत १७० कार्यरत छन्। जसमा चिकित्सक २९. नर्स ६५ समेत ९४ पद रिक्त रहेको छ।
अस्पतालमा १४ वर्षमुनिका बालबालिकाहरूको मुटु रोगको उपचार गर्ने कार्डियो सेवा सञ्चालनमा रहे तापनि छुट्टै कार्डियो युनिट र मुटु रोग विशेषज्ञको पदपूर्ति नहुँदा मेडिसिन चिकित्सकबाट मेडिकल म्यानेजमेण्टसम्बन्धी मेडिसिनबाट हुने उपचार प्रदान गरिएको छ। अस्पतालमा ईको, क्याथल्याब र सीसी.यू. नभएका कारण अस्पतालमा मुटुको एन्जियोप्लाष्ट, एञ्जियोग्राफी लगायतका सेवा उपलब्ध छैन। दरबन्दीअनुसार पदपूर्ति नहुँदा अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवा प्रवाह प्रभावित हुदै आएको छ।