काठमाडौं– काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा १ नम्बरमै पुगेपछि विज्ञहरुले सावधानी अपनाउन आग्रह गरेका छन्। वायु प्रदूषणका कारण विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ।
हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदुषित शहरको सूचीको पहिलो स्थानमा राखेको हो। शनिवार साँझबाट काठमाडौं संसारमा नै बढी प्रदुषण भएको शहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ।
वायु प्रदुषणहरु बढीरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको सुझाव छ। पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौंसहित नेपालका विभिन्न शहरहरुमा परेको विज्ञहरुले बताएका छन्।
जलवायु तथा विपत् विज्ञ डा.धर्म उप्रेतीले वागमती प्रदेश र वरपरको वनको आगलागीका कारण काठमाडौं प्रदूषित शहरमध्ये पहिलो नम्बरमा परेको बताए। प्रदुषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेको उप्रेतीको भनाइ छ। उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा वहन नपाएको र हावा नबहँदा उपत्यकामा प्रदुषण बढेको बताए।
आइतबारदेखि नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भए पनि प्रदूषण हट्न भने अझै केही दिन लाग्ने उप्रेतीको भनाइ छ। अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेकोभन्दा २२ गुणा बढी प्रदूषण काठमाडौंमा रहेको उप्रेतीले उल्लेख गरे।
उप्रेतीको भनाइ ‘हिजो साँझ काठमाडौं संसारकै पहिलो प्रदुषण बढी भएको शहरमा मापन भएको थियो। आज बिहान बंगलादेशको ढाकामा सरेको छ। फेरि बेलुकासम्म काठमाडौं हुनसक्छ। समग्रमा अहिले प्रदुषण सबैभन्दा बढी हुने दक्षिण एसियामा हो, त्यसमा सबैभन्दा बढी भारतमा १० वटा शहर पर्दछ। हामीकहाँ कहिले काहीँ केही कारणले सर्छ र हामी पनि पहिलोमा पर्छौं। अहिले वनमा आगो लागेको छ, यो पनि एउटा प्रमुख कारण हो। वनमा अहिले आगलागी भइरहेको छ, बागमती प्रदेश र वरपरको वनको आगलागी हो र भारतको बिहार, उत्तर प्रदेशमा बालिएको आगोले हो, गहुँको भुस वा केही जलाउन बालेको आगोले हो। एउटा पीएम २.५ भन्ने पर्टीकुलेट म्याटरको कन्सल्टेसन हावामा बढाउने माध्यमको रुपमा एउटा आगो हो। एउटा सडकबाट उड्ने धुलोका कारण हो। सवारीसाधनको धुँवा पनि हो। अर्को नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम छ। वायु चलेन भने काठमाडौंमा प्रदूषण रहीरहन्छ। त्यसको असर अहिले काठमाडौंमा छ। आजैबाट पश्चिमी वायु नेपाल प्रवेश गर्दैछ र अझै दुई दिनसम्म यस्तो अवस्था भइ नै रहन्छ। पश्चिमी वायुको असर काठमाडौंमा हुन्छ र यसले केही राहत दिन्छ।
विश्व स्वास्थ्य संगठनले तोकेकोभन्दा २२ गुणा बढी प्रदुषण काठमाडौंमा बसेको छ, यो हिजो २५ गुणा बढी थियो। एउटा कुरा हामी सबैले गर्नुपर्ने र सरकारले पनि आग्रह गर्नुपर्ने कुरा मास्कको प्रयोगलाई अनिवार्य गर्नुपर्छ, थोरैमा एक महिनासम्म। सडकमा धुलो छ, कि त्यहाँ पानी छरौँ, कि कालोपत्रे गरौँ। सकिँदैन भने धुलो उडाउने काम बन्द गरौँ। प्रदूषण छ र अझै केही दिन रहिरहन्छ। एक, दुई दिनमा घट्छ तर फेरि आउँछ। किनभने यसपटक हिउँदे वर्षा भएन, अब वर्खे वर्षा हुने हो, त्यो पनि औसतभन्दा कम हुँदैछ। प्रदुषण मात्रै होइन, गहुँ भित्र्याउँदादेखि भुस पोल्ने क्रम बढ्दै जान्छ, पश्चिमी वायु कमजोर हुँदै जाँदा प्रदूषणको मात्रा झनै बढ्नेवाला छ। केही दिनको लागि धुँवा निकाल्ने सवारी साधन र मापदण्ड बाहिरका सवारी साधन छन्, ती सवारीसाधनहरुलाई केही दिन कम गर्नुपर्छ र वा बन्द नै गर्नुपर्छ। यसले ब्लड प्रेसर बढाउँछ, मुटुको समस्या हुने, हामीले दिनदिनै विष खाइरहेका छौँ, यसबारे सचेत हुनुपर्छ।’