काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्। सांसद साउदलाई प्रधानमन्त्रीले आज आइतबार परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने र आज नै पद तथा गोपनीयताको शपथ तय भएको छ।
साउदको शपथका लागि दिउँसो ३ बजेको समय निर्धारण गरिएको देउवानिकट एक नेताले जानकारी दिए। साउदलाई मन्त्रीका लागि प्रधानमन्त्रीसमक्ष देउवाले सिफारिस गरेका हुन्।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको हो।
केही दिनमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका लागि उनलाई काम लगाउनुपर्ने भएपछि नियुक्त गर्न लागिएको हो। हाल प्रधानमन्त्रीसँग आफैं ६ वटा मन्त्रालयको जिम्मेवारी रहेको छ।
परराष्ट्रमन्त्री नियुक्त हुने भए पनि स्वास्थ्य मन्त्रालयले भने आज पनि मन्त्री नपाउने देखिएको छ। १० गते हुने उपनिर्वाचनपछि मात्र स्वास्थ्यसहित अन्य रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ।