काठमाडौं- आर्थिक वर्ष २०७८/७९ मा एचआईभी एड्सका नयाँ संक्रमितहरु थपिएका छन्। महालेखा परीक्षकको साठी औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ एचआईभी एड्सका ३ हजार १८० नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो सङ्ख्या २३.३० प्रतिशत बढी हो।
त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा एचआईभी एड्सका संक्रमितको मृत्यु हुने सङ्ख्या भने घटेको देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ४८२ संक्रमितको मृत्यु भएको थियो भने २०७८/७९ मा ४६९ जनाको मृत्यु भएको छ।
हाल देशभर अनुमानित ४३ हजार ५२१ एचआईभी एड्सका संक्रमित रहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले एचआईभी एड्सका संक्रमणको कारण हुने मृत्युदर र नयाँ संक्रमित घटाउन कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुझाव दिएको छ।