काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औलो तथा कालाजार रोग नियन्त्रणको लागि खरिद गरेको विषादीयुक्त झुल वितरण नगरेको पाइएको छ। मन्त्रालयले १ करोड ४१ लाख १३ हजारमा खरिद गरेको ४० हजार विषादीयुक्त झुल खरिद गरेको थियो।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार मन्त्रालयले गत मङ्सिर ७ गते खरिद गरेर स्टोर गरेको झुल गत फाल्गुन २८ गतेसम्म पनि वितरण नगरेको हो। परीक्षकको कार्यलयले खरिद गरिएका उपकरण तथा स्वास्थ्य सामग्रीको प्रभावकारी व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ।
एकातिर मन्त्रालयले खरिद गरेको झुल वितरण गरिरहेको छैन तर गर्मीयाम सुरु भएसंगै कालाजारका बिरामी भेटिन थालेका छन्। जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार बाजुरामा हाल पाँच जनामा कालाजारका बिरामी भेटिएका छन्।