काठमाडौं– पाँच सरकारी अस्पतालले आफ्नो अस्पताल परिसरमा सञ्चालित पसल तथा कबलबाट ६ करोड ५७ लाख रुपैयाँ उठाउन बाँकी रहेको पाइएको छ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं प्रतिवेदन अनुसार पाँच सरकारी अस्पतालले पसल तथा कबलबाट ६ करोड ५७ लाख ७१ हजार रुपैयाँ भाडा असुल नगरेको पाइएको हो।
यसरी भाडा तोकिएको म्यादभित्र असुल नगरेका अस्पतालहरुमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्तिबाल अस्पताल, भरतपुर अस्पताल र वीर अस्पताल छन्।
बिपी प्रतिष्ठानले रु १ करोड ६३ लाख ५ हजार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले २६ लाख ४३ हजार, कान्ति अस्पतालले ५१ लाख २७ हजार, भरतपुर अस्पतालले १ करोड ५ लाख ८९ हजार र वीर अस्पतालले ३ करोड ११ लाख ७ हजार रकम पसल तथा कबलमार्फत असुन नगरेको पाइएको हो।
महालेखापरीक्षकको कार्यलयले यी सबै अस्पताललाई सम्झौताको शर्तअनुसार भाडा रकम असुल गर्न सुझाव दिएको छ।