काठमाडौं- भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपणका क्रममा मृत्यु भएका एक बिरामीको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसँग रकम माग गरेको छ। केन्द्रले मन्त्रालयसँग २० लाख रुपैयाँ बराबरको क्षतिपूर्ति दिनुपर्ने भन्दै रकम माग गरेको हो।
केन्द्रले यही चैत १९ गते मन्त्रालयमा पत्र पठाउँदै २० लाख रुपैयाँ उपलब्ध गराउन भनेको छ। केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले पठाएको पत्रमा मृतकका परिवार पक्षाबीच असार २२ गते मध्यराती भएको सम्झौता अनुसार क्षतिपूर्ति वापतको २० लाख उपलब्ध गराउन भनिएको छ।
काभ्रेका कुमार लामाको कलेजो प्रत्यारोपणका क्रममा गत असार २२ गते मृत्यु भएको थियो। त्यसपछि आफन्तसँग भएको सहमति अनुसार केन्द्रले क्षतिपूर्ति उपलब्ध गराउने भनिएको थियो।
सम्झौता अनुसार मृतकका परिवारलाई रकम उपलब्ध गराउन मानव अंग प्रत्यारोपण विकास समितिको गत भदौ २४ गते बैठक बसेको थियो। उक्त बैठकले २० लाख रुपैयाँ रकम उपलब्ध गराउन मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा पत्र पठाउने निर्णय गरेको थियो।
अर्थले उक्त विषय अर्थ मन्त्रालयभन्दा बाहिरको विषय भएको भनि पत्र फिर्ता पठाएको थियो। त्यसपछि स्वास्थ्य मन्त्रालयले केन्द्रकै विकास समितिबाट निर्णय गरी विकास समितिकै कोषबाट क्षतिपूर्ति उपलब्ध गराउन केन्द्रलाई पत्र पठाएको थियो। स्वास्थ्य मन्त्रालयको उक्त पत्र पछि केन्द्रले पुन मन्त्रालयमा पत्र पठाउँदै रकम उपलब्ध गराउन भनेको हो। केन्द्रले विकास समितिमा क्षतिपूर्ति दिनका लागि कुनै रकम नभएकाले रकम निकासाका लागि पुन पत्र पठाएको हो।
हेरौं पत्र