काठमाडौं- कैलालीको धनगढीस्थित गेटा अस्पतालमा मात्र दुई जना डाक्टर, एक जना लेखा, एक जना प्रशासन र एक जना बायोमेडिकल इन्जिनियर यतिबेला अस्पतालको सेवा चलाउने प्रशासनिक काममा खटिएका छन्। सरकारले लामो समयदेखि गेटा अस्पताल सञ्चालन गर्ने बताउँदै आएपनि अहिलेसम्म गेटाको दरबन्दी कति हुने भन्ने टुंगो लागेको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा सेवा सुरु गर्नका लागि सुरुमा अस्थायी दरबन्दीको फाइल तयार पारेको छ। तर अर्थ मन्त्रालयले देशको आर्थिक अवस्था कमजोर रहेको भन्दै नयाँ दरबन्दी र संगठन संरचना लगायतका फाइल नपठाउन भन्दै आइरहेको अवस्था छ। जसका कारण गेटा पहिलो चरणमा कति जनशक्तिमा कति शय्यामा चलाउने भन्ने निर्णय नै हुन सकेको छैन।
यस्तै गेटामा अस्पताल तथा चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रमहरु सञ्चालनका लागि भवनहरु निर्माण भएका छन्। तर उक्त स्थानमा विद्युत र पानीको व्यवस्था समेत हुन सकेको छैन। अस्पतालमा आवश्यक पर्ने छुट्टै विद्युतको व्यवस्था कहिलेसम्म हुने भन्ने समेत टुंगो लागिसकेको अवस्था छैन। पानीको पनि स्रोतको खोजी समेत हुन सकेको छैन।
गेटामा तत्कालै अस्पताल सञ्चालनका लागि आवश्यक आधारभूत कुराहरु समेत व्यवस्थापन भइसकेको छैन।
तर, अस्पतालमा अत्यावश्यक आधारभूत सामग्री र व्यवस्थापन नरहेको अवस्थामा हतारमा कमिसनको लोभमा ठूला र महँगा उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ।
अस्पतालले पहिलो चरणमा आकस्मिक कक्ष, ओपिडी, ल्याब, फार्मेसी र वार्डका लागि अति नै आवश्यक आधारभूत सामग्रीहरुको व्यवस्था नै नगरी अस्पताल सञ्चालनमा आइहाले पनि तत्कालै प्रयोगमा नआउने महँगा ठूला उपकरण खरिदको प्रक्रिया अगाडि बढाएको हो।
'अस्पतालले अहिले खरिदका लागि अगाडि बढाएको प्रक्रिया अनुसार अधिकांस उपकरणहरु खरिद भएर आएमा लामो समय थन्किएर रहने अवस्था छ,' स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने। ती कर्मचारीका अनुसार अस्पतालले पहिलो चरणमा आकस्मिक कक्ष र ओपिडी सञ्चालनका लागि आवश्यक पर्ने प्रारम्भिक र अत्यावश्यक उपकरण र सामग्री खरिद गर्नुपर्नेमा अस्पताल चलेको डेढदेखि दुई वर्षपछि मात्र प्रयोगमा आउन सक्ने खालका उपकरण खरिदको काम अगाडि बढाएको छ।
'अस्पतालले १३ करोड रुपैयाँका अहिलो प्रयोगमा नै नआइ थन्किएर बस्ने उपकरणहरु खरिदको फाइल अगाडि बढाएको छ,' स्रोतले भन्यो, 'असारभित्र बजेट सक्ने र कमिसन खाइहाल्ने नियतले फाइल अगाडि बढाएको जस्तो देखिन्छ। अस्पतालमा सेवा सुरु नै गर्ने हो भने त ओपिडी, आकस्मिक कक्ष, ल्याब र फार्मेसीमा चाहिने अत्यावश्यक आधारभूत सामग्री किन्नुपर्ने हो। तर यहाँ त उल्टो पो देखियो।'
स्वास्थ्यखबरलाई उपलब्ध गराइएको विवरण अनुसार अस्पतालले उपचारका लागि आएका बिरामीको रक्तचाप जाँच्ने बिपी मेसिन, स्टेथेस्कोप, स्लाइन स्ट्यान्ड, मोनिटर, सर्जीकल सामग्रीहरु, शय्याको वरिपरी रहने अन्य अत्यावश्यक सामग्रीहरु, प्रयोगशालाका सामग्रीहरु केही पनि किन्ने निर्णय गरेको छैन।
अस्पतालले सुरुमै सिआर्म मेसिन, इको कार्डियोग्राफी मेसिन जस्ता पहिलो चरणमा प्रयोगमा नै नआउने जस्ता उपकरणहरु किन्ने प्रक्रिया अगाडि बढाएको छ। 'अस्पतालका लागि भवन मात्र भएर हुँदैन त्यसभित्र आवश्यक अन्य पूर्वाधारहरु नै तयार नभई हतारमा ठूला उपकरण किन्नु उपयुक्त हुँदैन,' मन्त्रालय स्रोतले भन्यो।
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले अस्पतालका लागि दरबन्दी कहिले टुंगो लाग्छ अझै भन्ने सकिने अवस्था नरहेको बताए। उनले अस्पताल पहिलो चरणमा २५ देखि ५० शय्यासम्म मात्र सञ्चालनमा आउने अनुमान गरिएको जानकारी दिए।
अस्पताल निर्देशक डा प्रमोद जोशीले सरकारले सुनिश्चित गरेको बजेट अनुसार पहिलो चरणमा आगामी साउन-भदौसम्म अस्पतालको सेवा सुरु गर्न अस्पताल सञ्चालन मापदण्डमा रहेको व्यवस्था अनुसार नै उपकरण लगायतका सामग्रीको व्यवस्थापन गर्न लागिएको बताए।
सरकारले दरबन्दी र अस्पताल सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउने विश्वासका साथ भदौभित्र सेवा सुरु गर्न उपकरण लगायत अन्य आवश्यक सामग्री खरिदको काम अगाडि बढाइएको उनले जानकारी दिए।
'सरकारले दरबन्दी र अन्य आवश्यक सहयोग गर्नेवित्तिकै सेवा सुरु गर्न अस्पताल उपकरण लगायतका सामग्रीहरुसहित तयारी अवस्थामा हुनुपर्छ,' उनले भने, 'उपकरण लगायतका सामग्री खरिदको काम अहिले अगाडि बढाउँदा खरिद भएर अस्पतालमा आउन तीन/चार महिना लाग्ने भएकाले प्रक्रिया अगाडि बढाइएको हो।'