काठमाडौं– बुधबार देशभर १२१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा भएको २ हजार ३ सय ७७ नमुना परीक्षणमा उक्त संख्यामा कोरोनाका संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। मंगलबार पनि कोरोनाबाट एक जनाको मृत्यु भएको थियो। तीन महिनापछि मंगलबार कोरोनाबाट पहिलो मृत्यु भएको थियो।
बुधबार एक हजार ७ सय ५७ जनाको एन्टीजेन विधिबाट र ६२० जनाको आरटीपीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो।
यस्तै आज ८१ जना कोरोनाका बिरामी निको भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ४४५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२५ जना संक्रमितको संस्थागत आइसोलेशनमा रहेका छन्। ११ जना आईसीयूमा उपचाररत छन् भने ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।