काठमाडौं– तरकारी तथा खाद्यान्न जाँचसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यविधि पास गरेको हो।
कार्यविधि पास भएसँगै अब भारतबाट आयात हुने तरकारीको नियमित विषादी परीक्षण हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ।
अब भारत तथा विदेशी मुलुकबाट आउने र नेपालमा उत्पादित हुने तरकारीको पनि विषादी परीक्षण हुनेछ। नेपाल सरकारको मातहतका विभागअन्तर्गतका ल्याबहरुबाट विषादीको परीक्षण हुनेछ।
विदेशबाट भित्रिने तरकारीको भने सीमा नाकामै विषादी परीक्षण गर्ने व्यवस्था मिलाइने जनाइएको छ।
यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पेस गरेको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट फिर्ता भएको थियो। २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भएपश्चात् नयाँ सरकार गठन भएपछि पुरानो मन्त्रिपरिषद्का निर्णय स्वतः फिर्ता जाने प्रचलनअनुरूप सो प्रस्ताव पनि फिर्ता गएको थियो।
प्रस्ताव फिर्ताको विषय सञ्चारमाध्यममा सार्वजनिक भएर चर्को आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै अर्को प्रस्ताव ल्याउन निर्देशन दिएका थिए।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तत्कालै नयाँ प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेस गरेको थियो। गत फागुन २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्तावमाथि छलफलका लागि सम्बन्धित समितिहरुमा पठाउने निर्णय गरेको थियो।