काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमितिका लागि बुधबार निर्वाचन हुँदै छ। महासंघमा यसपटक स्वास्थ्य क्षेत्रका तीन जना चुनावी मैदानमा होमिएका छन्।
महासंघको वरिष्ठ उपाध्यक्षमा औषधि उद्योगी उमेशलाल श्रेष्ठ चुनावी मैदानमा होमिएका छन् भने कार्यसमिति सदस्यमा वस्तुगत तर्फबाट रसायन तथा मेडिकल आपूर्ति संघ (केमसान)का अध्यक्ष भक्त हमालले उम्मेदवारी दिएका छन्।
यसैगरी, एसोसिएट तर्फबाट कार्यसमिति सदस्यमा ह्याम्स अस्पतालका सञ्चालक आरसएस भण्डारीले उम्मेदवारी दिएका छन्।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठ यसअघि महासंघको उपाध्यक्ष भइसकेका छन्। उनी नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष समेत हुन्। औषधि व्यवसायी श्रेष्ठ हक्की र निडर स्वभावका छन्। औषधि उत्पादक संघमा रहँदा उनले सफल नेतृत्वदायी भूमिका निभएको भन्दै प्रशंसा हुने गरेको छ।
वस्तुगत तर्फबाट कार्यसमिति सदस्यमा उठेका हमाल केमसानमा राम्रो काम गरेको र नेतृत्वदायी भूमिका खेलेको भन्दै दोस्रो पटक अध्यक्ष बनेका हुन्। उनी मिलनसार र निर्णय लिन सक्ने व्यक्तिका रुपमा चिनिन्छन्। सन् २०१५ देखी २०१७ सम्म केमसानको अध्यक्ष रहेका उनी यसपटक पुन: नेतृत्वमा निर्विरोध निर्वाचित भएका हुन्।
स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवाका विषयमा उनी आवाज उठाउँदै आइरहेका छन्। उनी सुदिप इन्टरनेशनल नामको सप्लायर्स कम्पनी मार्फत नेपालमा युरोप लगायतका मुलुकबाट स्वास्थ्यका सामग्री आयात गर्दै आइरहेका छन्।
महासंघमा पुगेर स्वास्थ्यका क्षेत्रका विषयलाई प्राथमिकताका साथ उठान गर्ने उनले बताएका छन्।
एसोसिएट तर्फबाट केन्द्रिय कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका ह्याम्स अस्पतालका अध्यक्ष भण्डारी पनि महासंघमा स्वास्थ्यका विषयले प्राथमिकता पाउनु पर्नेमा जोड दिँदै आइरहेका छन्। उनी अस्पताल सञ्चालक हुनुअघिदेखि नै मेडिकल तथा सर्जीकल सामग्री आयातमा सक्रिय थिए।