काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले महासंघलाई पहलमान होइन, हलमान नेतृत्व आवश्यक भएको औंल्याएका छन्।
नेपाल औषधि उत्पादक संघले हालै काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले नेतृत्व तहको केन्द्रिकृत सोचले महासंघले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरे।
उनले महासंघमा पहल गरिदिने व्यक्ति धेरै भएको तर, आफूहरूलाई हल गरिदिने ‘हलमान’ (समाधान गर्ने) नेतृत्वको आवश्यकता खड्किएको बताए।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका श्रेष्ठले आफू नेतृत्वमा पुगे पहलमान नभई, हलमान बन्ने आश्वासन दिए।
औषधि उत्पादक संघ (एपोन)का कोषाध्यक्ष प्रभात रुँगटाले राखेको प्रश्नको उत्तर दिने क्रममा औषधि उत्पादक संघका पूर्व अध्यक्ष श्रेष्ठले भने, ‘नेपाललाई अब पहलमान चाहिएन, हलमान चाहियो। हल गरिदिने मान्छे चाहियो। महासंघ त्यो हुन सकेन। महासंघमा प्रायः सबै पहलमान देखिए।’
रुँगटाले संघीयता लागू हुँदासमेत उद्योग वाणिज्य महासंघको मूल नेतृत्व केन्द्रित मानसिकता बोकेर हिँडिरहेको आरोप लगाए। उनले संघीयता लागू भएपछि औषधि व्यवसायी थप धरासायी हुँदै गएको र वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिँदै गर्दा तपाईंको योजना के छ भनेर श्रेष्ठसँग प्रश्न गरेका थिए।
जसको उत्तर दिँदै श्रेष्ठले भने, ‘संघीयताले भन्दा पनि महासंघको नेतृत्व केन्द्रिकृत बन्दा यस्तो समस्या आइपरेको हो। महासंघ बृहत छ। महासंघ भनेको दार्चुला चेम्बर मात्र होइन, ताप्लेजुङ चेम्बर पनि हो। महासंघ जीवन्त छ। तपाईंले उठाउन खोज्नु भएको कुरा के हो भने, अहिलेको नेतृत्वले जिल्लामा उठेका जल्दाबल्दा मुद्दालाई कम महत्त्व दिएको पक्कै हो।’
महासंघको वर्तमान नेतृत्व ज्ञापनपत्र बोकेर प्रधानमन्त्रीसँग फोटो खिचाउन व्यस्त रहँदा समस्या आएको पनि श्रेष्ठको बुझाई छ। ‘ङिच्च दाँत देखाएर फोटो खिचायो, त्यति हो काम? हामी व्यापार गरेर कमाएर खाने मान्छे। यत्रो कठिनाईका बाबजुद हामीहरू व्यापार गरेर बाँचेका छौं,’ उनले भने, ‘विगतमा म पनि उपाध्यक्ष थिएँ। म पनि दोषको भागी हुँला। महासंघ भनेको अध्यक्षात्मक प्रणाली हो। म उपाध्यक्ष भएर मैले एउटा चिट्ठी पनि लेख्न सक्दिनँ। त्यस्तो थिति हामीले बसाएका छौं। जसलाई परिवर्तन गर्नु जरुरी छ।’
उनले महासंघ एकजुट भएर समस्या समाधानतर्फ उन्मुख भएको खण्डमा सहजै चुनौतिलाई पार लगाउन सकिने बताए। वर्तमान नेतृत्व स्वार्थकेन्द्रित भएका कारण प्रभावकारी नभएको श्रेष्ठको आरोप थियो।
‘२०६२ सालतिर काठमाडौं पुरै बन्द थियो। त्यो बन्द कसले खुलायो? महासंघले होइन र! न्युरोडदेखि बसन्तपुर गेट हुँदै इन्द्रचोकसम्म मान्छेको लाइन थियो। अमुक पार्टीले ६ दिनसम्म नेपाललाई ठप्प पार्ने भनेका थिए। सातौं दिन उहाँहरूले सार्वजनिक रूपमा क्षमा माग्नुपर्यो,’ उनले भने, ‘यसअघि महासंघको ताकत हामीलाई पनि थाहा थिएन। मान्छेलाई खानै मुस्किल भएको थियो।’
उनले वरिष्ठ उपाध्यक्षमा आफ्नो जित सुनिश्चित भएपछि १२ घण्टा काम गर्ने बताए। ‘मलाई जिल्लाका साथीहरूले दाई तपाईंले जितेपछि फोन त उठ्छ होला भन्नुहुन्छ,’ महासंघको वर्तमान नेतृत्वको फोन नउठ्ने समस्यातर्फ व्यङ्ग कस्दै उनले भने, ‘म साथीहरूलाई भन्न चाहन्छु, मेरो फोन आजभोलि १२ घण्टा उठ्छ। १२ घण्टा मलाई चाहिन्छ। सुत्नु पर्यो। नित्य कर्म गर्नुपर्यो। तर, चुनावको बेला मेरो १६ घण्टा फोन चल्छ। मेरो फोन कहिल्यै पनि स्वीचअफ हुँदैन। उठ्ने वित्तिकै मेरो पहिलो काम भनेको कतिवटा मिस्डकल आयो, त्यो चेक गर्ने र कल ब्याक गर्ने हुन्छ।’
उनले प्रदेशभन्दा पनि स्थानीय तहमा थुप्रै समस्या रहेको अवगत गराए। उनले उद्योगी, व्यवसायीमाथि अमुक समस्या थपिएका बताए।
‘करको कुरा केन्द्रले निर्धारण गर्छ। तर, नगरपालिकाले ५० हजार, एक लाख, दुई लाख पैसा पनि उठाउँछ। यसैमा हामीले सरकारलाई दबाब दिन सकेनौं। हामी कराउँदै, अन्तर्वार्ता दिँदै हिँड्यौं,’ उनले भने, ‘सरकारलाई खासै दबाब परेन। सरकारले स्थानीय निकाय बनायो। प्रदेश सरकार बनायो। साढे तीन खर्ब बजेट सकायो। तर, अधिकार दिएको छैन।’
उनले प्रदेश सभालाई कुनै अधिकार नदिएको र अधिकार जति सबै स्थानीय निकायमा लगेर थोपरेको आरोप लगाए। ‘स्थानीय निकायले हरेक ठाउँमा पैसा उठाएपछि विकास त हुनुपर्ने हो। यसले उद्योग र व्यापारमा अतिरिक्त कर थपियो। त्यो चीजको सम्बोधन म महासंघको नेतृत्वमा पुगेपछि गर्नेछु’, उनले भने, ‘संघीयताको कुरा गर्न म राजनीतिज्ञ होइन। मलाई थाहा छैन। ७५३ पालिका नेपाललाई चाहिन्छ कि चाहिँदैन? त्यसमा तपाईं–हामी औषधि व्यवसायी मात्र लागेर हुँदैन। सबैले लाग्नुपर्छ। बिनाबैंकको व्यापार चल्दैन। बिनाजनताको पैसाले बैंक पनि चल्दैन। नियामक संस्था अटेर गरेर बसिरहेको छ।’
उनले आफूसँग कुनै जादूको छडी नभएको तर, सामूहिक छलफलबाट स्थितिमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे।