काठमाडौं– सरकारले कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पछिल्लो समय कोरोना भाइरसको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीले पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले कोरोनाबाट जोगिन अनिवार्य स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरे।
सहायक प्रवक्ता अधिकारीले कोरोना संक्रमण अहिले दैनिक ४० जनाभन्दा बढीमा देखिरहेको भन्दै सबै सजग हुन आग्रह गरे। उनले भीडभाडमा नजान र नगर्न, मास्क अनिवार्य प्रयोग गर्न र हातको सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको बताए।
कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिए पनि चिकित्सकको आवश्यक सल्लाह लिएर मात्रै औषधि सेवन गर्न उनले आग्रह गरेका छन्। उनले कोरोनाबाट बच्नको लागि कोभिड १९ विरुद्धको खोप समयमै लगाउन पनि आग्रह गरे।