बैतडी- बैतडीको सुर्नया गाउँपालिकाले विभिन्न वडामा ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गरेको छ। गर्भवती महिलाहरुलाई लक्षित गरेर ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।
गर्भावस्थामा हुन सक्ने जटीलताहरुलाई समयमै पत्ता लगाई आमा र शिशुको मृत्युदर घटाउने उद्देश्यसहित शिविर सञ्चालन गरिएको हो। शिविरमा गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गरी उनीहरुको पेटभित्रको बच्चाको अवस्थाका बारेमा जानकारी लिने गरिन्छ।
गर्भवती आमाहरुमा कुनै जटीलता देखिएमा उनीहरुलाई सुविधा सम्पन्न अस्पतालमा गएर बच्चा जन्माउन सुझाव दिने गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए। उनले भने ‘मातृ र शिशु मृत्यु रोक्नका लागि हामीले यो अभियान सञ्चालन गरेका हौं। पालिकाका ८ ओटै वडामा शिविर सञ्चालन गरिरहेका छौं।’
वडा नं ६, ७ र ८ मा यसअघि नै शिविर सञ्चालन गरिसकेको गाउँपालिकाले यही चैत २१ गतेबाट अन्य वडाहरुमा शिविर सञ्चालन गरिरहेको छ। चैत २१ गते रौलेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिएकोमा २६ जना गर्भवती महिलाहरुको चेकजाँच गरिएको छ। यस्तै बुधबार भौनेली स्वास्थ्यचौकीमा सञ्चालन गरिएको शिविरमा ५० जना गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गरिएको छ।
बिहीबार वासुलिंग स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए। शुक्रबार वडा नं २ स्थित वासुदेव आधारभूत स्वास्थ्य केन्द्रमो शिविर सञ्चालन हुनेछ।
यस्तै वडा नं १ स्थित हटैराज स्वास्थ्यचौकीमा चैत २६ गते ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए। शिविरमा आइ सेवा लिन समेत सबैलाई आग्रह गरिएको छ। शिविर सञ्चालनका बेला आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आएर चेकजाँच गर्नका लागि सुर्नया गाउँपालिकाले आग्रह गरेको हो।