काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालको स्वास्थ्य नीतिमा फार्मेसी सबैभन्दा हेपिएको क्षेत्र भएको बताएका छन्। उनले यो क्षेत्रलाई राज्यबाट बेवास्ता गरिएको पनि बताए।
उनले एफएनसीसीआईको आगामी निर्वाचनमा आफू नेतृत्वमा आए औषधि उत्पादकको मुद्धालाई स्थापित गराउने बताए। एफएनसीसीआईको आगामी निर्वाचनमा श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हुन्।
सरकारले यो क्षेत्रमा जनशक्तिको कमि भएको भन्दै झारा टार्ने काम मात्र गरिरहेको उनको आरोप थियो। उनले आफू नेतृत्वमा आए सरकारलाई झकझकाउने पनि बताए। स्वास्थ्य मन्त्रालयमा कार्यरत फार्मेसीका कर्मचारी सबैभन्दा हेपिएको अवस्थामा रहेको उदाहरण दिँदै उनले भने, ‘यसले नै हामीलाई हेर्ने दृष्टिकोण अवगत गराउँछ।’
औषधिको क्षेत्र त्यति गाह्रो नभएको भन्दै उनले सामान्य अंग्रेजी लेख्न–पढ्न जान्ने र चिकित्सकहरूले स्पस्ट बुझ्ने भाषामा लेखिदिने हो भने आधा समस्या समाधान हुने बताए।
नेपाल औषधि उत्पादक संघले हालै काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एनसीडीएका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले फार्मेसिस्टहरूले भोग्नुपरेको चुनौतीको विषयमा अवगत गराएका थिए।
उनले अन्तरक्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठसँग प्रश्न गरेका थिए, ‘नेपालको वर्तमान अर्थतन्त्रको अवस्थामा महासंघको आगामी नेतृत्वले कस्तो रणनीति अंगिकार गर्ला?’
उनले वस्तुगत संघको तर्फबाट महासंघको बैठकमा आफूले नेपाल औषधि उत्पादक संघको ४–५ वटा मुद्धा लिएर गएको तर त्यसको सुनुवाई अहिलेसम्म नभएको आरोप लगाए। उनले औषधि उत्पादक संघको तर्फबाट उम्मेदवारी दिँदै गर्दा २१ हजार सदस्यका लागि आफ्नो योजना के छ भनी श्रेष्ठलाई प्रश्न सोधेका थिए।
देशमा संघीयता लागु भएपनि मन्त्रालयको काम गर्ने शैली केन्द्रीकृत भएको श्रेष्ठले आरोप लगाए। उनले मुगु र जुम्लाका फार्मेसीहरूलाई नेपालगञ्ज आएर दर्ता नवीकरण गर्ने प्रावधान पुरानो भएको भन्दै यसलाई अनलाईन प्रणालीमा लैजाँदा सहज हुने बताए।
उनले हरेक वर्ष लाइसेन्स नवीकरण गर्ने प्रावधानले झन्झट निम्त्याएको, सहजताका लागि तीन–तीन वर्षमा नवीकरण प्रावधान ल्याउन आग्रह गरेको बताए।
‘उहाँहरूले विगत एक वर्षदेखि हामीहरुप्रति सकारात्मक छौं भनिरहनु भएको छ। तर, काम भएको छैन,’ औषधि उत्पादक संघका पूर्वअध्यक्षसमेत रहिसकेका श्रेष्ठले भने।
उनले फार्मेसी सञ्चालक र औषधि व्यवसायीहरूको समस्यालाई आफूले नजिकबाट बुझेको बताए। ‘मेरो अहिलेको उम्मेदवारी पनि तपाईंहरूको समस्यालाई सम्बोधन गर्नकै लागि त हो नि,’ उनले भने।
उनले विदेशबाट आउने औषधिहरू गुणात्मक हुनुपर्नेमा जोड दिए। उनले औषधि उत्पादक र व्यवसायीको साझा मुद्धाका लागि आफू निरन्तर लडिरहने बताए।