काठमाडौँ- गोकर्णेश्वर नगर अस्पतालमा बुधबारबाट आँखा सेवाको सुरुवात भएको छ। नेपाल दृष्टि विशेषज्ञ संघले गोकर्णेश्वर नगरपालिकासंगको सहकार्यमा गोकर्णेश्वर नगर अस्पतालमा सो सेवा प्रारम्भ गरेको हो।
बुधबार अस्पतालमा आयोजित विशेष कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले आँखा सेवाको उद्घाटन गरे।
अप्टोमेट्री गिभिङ साइटको आर्थिक सहयोग र नेपाल दृष्टि विशेषज्ञ संघको नेतृत्वमा उक्त आँखा युनिट सञ्चालनमा आएको हो। यस सेवा विस्तारबाट अस्पतालमा आउने बिरामी, सेवाग्राही तथा समस्त गोकर्णेश्वर नगरपालिका बासीले आँखाको प्राथमिक सेवा प्राप्त गर्न सक्ने बताइएको छ।
नेपाल दृष्टि विशेषज्ञ संघ, नेपालका दृष्टि विशेषज्ञहरुको छाता संगठन हो। दृष्टि विशेषज्ञ पेशाको पहिचान, स्थापना र हकहितका लागि सन् २००३ मा स्थापित यस संगठनले नेपालमा गुणस्तरीय तथा सर्वशुलभ रुमपा आँखा स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउन दृष्टि विशेषज्ञको महत्वपूर्ण भूमिकालाई उजागर तथा स्थापित गर्न विभिन्न क्रियाकलाप अन्तर्गत नीति पैरबी पनि गर्दै आएको छ।
सो अवसरमा बोल्दै नगर प्रमुख रिसालले हाल ४ नं को वडा कार्यलय भवनमा शुरुवात गरिएको आँखा सेवालाई चाडैँ नै अस्पतालको निर्माणाधीन भवनमा सार्ने बताए। उनले २०८०।८१ सम्ममा सम्पूर्ण नगरबासीलाई अनिवार्य स्वास्थ्य वीमा समायोजन गर्ने उद्देश्य रहेको जानकारी दिए।
नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्ष निरज देव जोशीले संघले २० वर्षदेखि गर्दै आएका कार्यहरु उजागर गर्ने क्रममा यस गोकर्णेश्वर नगर अस्पतालले आँखा सेवा प्रदान गर्ने मौका दिएकोमा खुशी व्यक्त गरे।
‘प्राय जसो आँखा सेवाको लागि नेपालमा छुट्टै अस्पताल हुने गर्दछ। गोकर्णेश्वर नगर अस्पतालले आफ्नो सेवामा आँखा सेवा समावेश गरी राष्ट्रिय आँखा स्वास्थ्य रणनीति अन्तर्गत आधारभूत स्वास्थ्य सेवामा आँखा सेवालाई संल्गन गर्ने मूल मर्मलाई कार्यान्वयन गरेको छ, यो राम्रो कुरा हो,’ उनले भने।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा नगर अस्पताल संचालक समितिका अध्यक्ष जयराम महतले नगरको आँखा सेवा विस्तारको पहलमा नेपाल दृष्टि विशेषज्ञ संघले उपकरण तथा जनशक्ति प्रदान गरेकोमा संघलाई धन्यवाद व्यक्त गरे।