काठमाडौं- ६ वटा मन्त्रालय आफैंसँग राखेर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक/दुई दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने बताएको धेरै भइसक्यो। हरेकजसो सार्वजनिक कार्यक्रममा प्रचण्डको यो अभिव्यक्ति सुन्न पाइन्छ।
प्रधानमन्त्री प्रचण्डले बुधबार पनि एक कार्यक्रमलाई सम्बोधन गर्दै अपूर्ण रहेको मन्त्रिपरिषदलाई एक/दुई दिनमै पूर्ण आकार दिने दाबी गरे। तर राजनीतिक घटनाक्रम हेर्दा तत्काल मन्त्रिपरिषदले पूर्णता पाउने सम्भावना भने कमै देखिन्छ। मन्त्रिपरिषदले पूर्णता नपाउँदा स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन छ।
मन्त्रिपरिषद् विस्तारका लागि नेपाली कांग्रेसले चार र जसपाले एक मन्त्रीको नाम सिफारिस गर्नुपर्ने हुन्छ। यी दुवै पार्टीमा मन्त्रीको नाम सिफारिस गर्ने तत्कालै कुनै सम्भावना छैन।
जसपा अध्यक्ष उपेन्द्र यादव आफैं बारा- २ को उपनिर्वाचनमा सत्ता-गठबन्धनबाट उम्मेदवार बनेका कारण यो पार्टीले १० वैशाखको उपनिर्वाचनसम्म मन्त्री सिफारिस गर्ने सम्भावना नरहेको जसपा स्रोतको भनाइ छ।
जसपाले पार्टीको तर्फबाट नेता अशोक राईलाई शिक्षा मन्त्री बनाएको छ। राईले गत शुक्रबार नै सपथ ग्रहण गरी पदभार सम्हालिसकेका छन्।
जसपाले भागबण्डामा दुई वटा मन्त्रालय पाएको छ। एकथरीले जसपा अध्यक्ष यादव आफैं उपनिर्वाचनमा निर्वाचित भएपछि मन्त्रिपरिषदमा सहभागी हुने गरी एक मात्र मन्त्रालय सिफारिस गरेको आकलन समेत गरेका छन्।
यता, चार मन्त्री सिफारिस गर्न नेपाली कांग्रेसभित्र पनि कुनै तयारी देखिएको छैन। गत शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने क्रममा पार्टीभित्र भागबण्डामा सहमति नहुँदा सभापति शेरबहादुर देउवाले आफू निकट चार नेतालाई मात्र मन्त्रिपरिषदमा पठाएका थिए।
देउवाले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङलाई सरकारमा पठाएका थिए। कांग्रेसको भागमा ८ मन्त्रालय परेको छ।
देउवाले इतर समूहलाई दुई मन्त्री मात्र दिने तयारी गरेपछि सो समूहले सरकारमा सहभागी नहुने अडान राखेको छ। नेता शेखर कोइराला र महामन्त्री गगन थापाले आफ्नो समूहलाई तीन मन्त्री दिए मात्रै सरकारमा सहभागी हुने अडान राखेका हुन्। तर शुक्रबारपछि देउवाले मन्त्रिपरिषद् विस्तारका बारेमा कोइराला र थापासँग छलफल नै गरेका छैनन्।
बुधबार बिहान कांग्रेस सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पार्टी प्रवक्ता प्रकाशशरण महतसँग उपनिर्वाचनका बारेमा छलफल गरे पनि मन्त्रिपरिषद् विस्तारबारे कुनै छलफल गरेनन्।
देउवाले रक्षा, अर्थ, उद्योग र सहरी विकास मन्त्री बनाइसकेका छन् भने परराष्ट्र, स्वास्थ्य, कानुन र युवा तथा खेलकुद मन्त्री बनाउन बाँकी राखेका छन्।
गत शुक्रबार देउवाले शेखर-गगन पक्षलाई कानुन र युवा तथा खेलकुद मन्त्रालयमा नाम सिफारिस गर्न भनेका थिए। जसप्रति उक्त समूह असन्तुष्ट रहँदै सरकारमा सहभागी नहुने अडान राखेका हुन्।
बुधबार नै बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा समेत प्रधानमन्त्री प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने आफ्नो प्रयास रहेको सुनाएका छन्। तर, उपनिर्वाचनअघि कांग्रेस र जसपाबाट मन्त्री सिफारिस हुने सम्भावना न्यून छ।