काठमाडौं– पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन्। बुधबार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन्।
शारीरिक रुपमा अशक्त रहेका उनका दुवै खुट्टा छैनन्। उनी कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन्। कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्तिसमेत हुन्।
सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानुभन्दाअघि उनले ५ वर्षको पर्खाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुशी लागेको बताए।
उनले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरुलाई खुशी दिने विश्वास व्यक्त गरे। उनले शारीरिक अशक्त भएका व्यक्तिहरु कोही भन्दा केही पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरुमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताए।
उनले आफ्नो लागि सगरमाथा आरोहणको समय २ महिनाको हुने जानकारी दिए। सन् २०१० मा अफगानिस्तानको लडाईंमा उनले दुवै खुट्टा गुमाएका थिए। घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन्।
बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन्। उनले २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए भने र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बने।
उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो। यसअघि पनि उहाँ सगरमाथाको आधारशिविरसम्म पुगिसकेका छन्।