काठमाडौं- नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले स्वास्थ्यमा २ करोड ५० लाख अमेरिकी डलर (करीब ३ अर्व २७ करोड रुपैयाँ) बजेट सहितको नयाँ परियोजना सुरु गरेको छ।
‘स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रवन्ध परियोजना’ नाम दिइएको उक्त परियोजना संघीय स्वास्थ्य मन्त्रालयसँगको साझेदारीमा सोमबारबाट सुरु गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीकाअनुसार यो परियोजनाले दशौं लाख नेपालीको स्वास्थ्य सुधारका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सोही प्रदेशका तीन स्थानीय तहहरु गुराँस गाउँपालिका, वीरेन्द्रनगर नगरपालिकार र भेरीगंगा नगरपालिकालाई वित्तिय सहायता प्रदान गर्नेछ।
सहप्रवक्ता डा अधिकारीले सोमबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस साझेदारीले नेपाली नागरिकहरुलाई उचित, उत्तरदायी र दीगो स्वास्थ्य सेवा प्रदान गर्न संघीय र प्रादेशिक तहहरुमा नेपाल सरकारको स्वास्थ्य प्रणालीको सुदृडीकरण गर्नेछ। साथै यसले नेपालीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक पहुँच दिलाउन नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२-२०३० का लक्ष्यहरु हासिल गर्न सरकारलाई सहयोग गर्नेछ।’