काठमाडौं - भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गत दश वर्षमा १ हजार ३८ जनाको मिगौला प्रत्यारोपण गरेको छ। जसमध्ये १० जनाको मिर्गौला प्रत्यारोपण मस्तिष्क मृत्यु भएकाको व्यक्तिबाट गरिएको छ।
८२१ पुरुष, २०७ महिला गरी १ हजार २८ जनाको मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ। ९ जना पुरुष र १ महिलामा भने मस्तिष्क मृत्यु भएका व्यक्तिबाट गरिएको अंग दानबाट प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए।
केन्द्रले २०६९ साल माघ ६ गते प्रत्यारोपण सेवा सुरु गरेको थियो। प्रत्यारोपण हुनेमा सबैभन्दा बढी बागमती प्रदेशका छन्। कुलमध्ये ३२८ जना बागमती प्रदेशको मात्र रहेको केन्द्रको तथ्यांक छ। कोशी प्रदेशका २३१, मधेश प्रदेशका ११५, गण्डकीका १७०, लुम्बिनीका १२०, कर्णालीका २६ र सुदूरपश्चिम प्रदेशका ३३ जना छन्। साथै भारतका १५ जना पनि रहेको केन्द्रले जनाएको छ।
हालसम्म केन्द्रले १० जनाको कलेजो प्रत्यारोपण समेत गरेको छ। जसमध्ये तीन जनाको मस्तिष्क मृत्यु भएका व्यक्तिले गरेको अंगदानबाट प्रत्यारोपण गरिएको श्रेष्ठले जानकारी दिए।