बुटवल- प्रोग्रेसिभ इन्जिनियर्स एसोसियसन नेपाल (पिन) लुम्बीनी प्रदेश र एसियन डाइगोनेष्ट्रीक ल्याब बुटवलबीच ल्याब परीक्षणको शुल्कमा इन्जिनियर र उनीहरुका परिवारलाई ४० प्रतिशत छुट दिने सम्झौता भएको छ।
सम्झौता पत्रमा पिनको तर्फबाट प्रदेश अध्यक्ष दिपक भट्टराई र ल्याबको तर्फबाट विनित रेग्मीले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा सहभागी लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले शिक्षा र स्वास्थ्य निशुल्क नहुन्जेल देशले विकासको गति लिन नसक्ने बताए। श्रेष्ठले विद्यार्थीहरु विज्ञान प्रविधिको आविष्कारक तथा प्रयोगकर्ता भएको बताउँदै विद्यार्थी मार्फत सचेतना अभियान चलाउनुपर्ने बताए।
श्रेष्ठले राजनीतिमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन इन्जिनियर तथा प्राविधिक क्षेत्रको मार्गदर्शन सधैं महत्त्वपूर्ण हुने बताए। उनले प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल लुम्बिनी प्रदेश कमिटीले स्वास्थ्य सचेतना र जानकारी लिनको लागि उल्लेख्य कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गरे।
यसैबीच शनिबार बुटवल बहुमुखी क्याम्पस बुटवलमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा पुष्प राज जोशी नेतृत्वको टोलिले स्वास्थ्य चेकजाँच तथा परामर्श दिएका थिए। शिविरमा एसियन डाइगोनेष्टीक ल्याबको प्रविधिक सहयोगमा निशुल्क सुगर, किड्नी तथा कोलेस्टोलको चेकजाँच गरिएको थियो। साथै आधुनिक समाज डेन्टल केयर बुटवलको सहकार्यमा निशुल्क दन्त परीक्षण तथा परामर्श सेवा प्रदमन गरिएको थियो।
बढ्दो गर्मीसँगै रगतको माग बढ्दो भएका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको पिन लुम्बीनी प्रदेश कमिटी सदस्य तथा स्वास्थ शिविर संयोजक हेमराज शाहीले बताए। शाहीले पिन इन्जिनियरहरुको हकहित तथा इन्जिनियरको पेशालाई मर्यादित र सुरक्षित बताउन लाग्ने प्रमुख संगठन भएको बताए।
उक्त कार्यक्रममा १०३ जना इन्जिनियर तथा अन्य सहभागीले स्वास्थ्य चेक जाँच तथा ल्याब परीक्षण गरेका थिए।