काठमाडौं- काठमाडौंबाट दुबई उड्ने विमानका पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको उडान ११ घण्टा डिले भएको छ।
शनिबार राति १२ बजे उड्नुपर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको विमान ११ घण्टा डिले भएको हो।
शनिबार राति साढे १० बजे दिल्लीबाट फर्केको निगमको मकालु नेपाली नाम भएको वाइडबडी विमानलाई दुबई उडानका लागि राखिएको थियो।
त्यो जहाज दिल्लीबाट उडाएर ल्याउने क्याप्टेन योगेश हिराचन र कोपाइलट गोपालसिंह विष्ट नै दुबई जानुपर्ने तालिका थियो। तर, ‘फुड प्वाइजन’का कारण पखाला लागेपछि को पाइलट विष्टले ‘सिक रिपोर्ट’ गरेका थिए।
विकल्पमा अर्को पाइलटसमेत उपलब्ध हुन नसकेपछि उडान ११ घण्टा सम्म डिले हुन पुगेको निगमका एक कर्मचारीले जानकारी दिए।
उड्न बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको थियो।