काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकमा पुनः डेंगु र कोरोना संक्रमण देखिएको छ। तीन महिनापछि सात जना कोरोना र पाँच महिनापछि डेंगु संक्रमण पुष्टि भएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यसै साता पाँचखाल–३ का ५१ वर्षीया एक महिलामा डेंगु संक्रमण पुष्टि भएको छ। परीक्षणपछि हाल उहाँ घरमै स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ। हाल स्थानीय तहका स्वास्थ्य शाखामार्फत लक्षण तथा बच्ने उपायबारे प्रचार–प्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुरुषोत्तम सेढाईँले बताए।
जिल्लामा तीन वर्षपछि पाँचखालमा डेंगुको संक्रमण देखिएको थियो। डेंगु रोग लाग्ने व्यक्तिलाई अचानक उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्ने गरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा बिबिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिने सेढाईँको भनाइ छ। जिल्लामा हालसम्म छ सय ८० मा डेंगुको संक्रमण देखिएको हो।
कार्यालयका अनुसार जिल्लामा शुक्रबार १८ जनाको कोभिड परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेढाईँका अनुसार बनेपा नगरपालिका–३, पनौती नपा–२ र नमोबुद्ध नपा–२ मा कोभिड पुष्टि भएको हो। जिल्लामा हालसम्म १८ हजार एक सय ५९ मा कोभिड पुष्टि भएको छ भने एक सय ९६ जनाले ज्यान गुमाइसकेका छन्। रासस