काठमाडौं - बाँकेको कोहलपुर नगरपालिकाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ। शनिबार कोहलपुर नगरपालिकाले स्थापना गरेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले उक्त केन्द्रको उद्घाटन गरेका हुन्।
काठमाडौं महानगरपालिका ३० ले सञ्चालन गरेको केन्द्र कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्यले अवलोकन गरेका थिए। काठमाडौंले सञ्चालन गरेको केन्द्र नगरवासीका लागि स्वास्थ्य सेवा दिन प्रभावकारी भएको भन्दै आफुले पनि सञ्चालन गर्ने मेयर आचार्यले बताएका थिए। सोही केन्द्रको उद्घाटनका लागि कांग्रेस नेता समेत रहेका थापा कोहलपुर पुगेका हुन्।
पूर्व स्वास्थ्यमन्त्री थापाको परिकल्पनाबाट काठमाडौंमा यो केन्द्र सञ्चालनमा आएको हो। यो केन्द्रबाट उपचारात्मक, सामुदायिक स्वास्थ्य सेवा र स्वास्थ्य प्रवद्र्धनदेखि घर घरमै स्वास्थ्य सेवा प्रवाह हुँदै आइरहेको छ।
विशेषज्ञ चिकित्सक सहितको उपचारात्मक सेवा मात्र नभई केन्द्रबाट फिजियोथेरापी, प्रयोगशाला लगायतका सेवासँगै अन्य जनस्वास्थ्यका सेवाहरु पनि उपलब्ध गराइन्छ। सार्वजनिक स्वास्थ्य सञ्जालको कमजोर अवस्थाका कारण प्रत्येक वडामा सहर केन्द्रित प्राथमिक स्वास्थ्य सेवा आवश्यक भएको थापाले बताउँदै आएका छन्।