काठमाडौं– पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिज्ञहरुले स्वास्थ्यलाई भवन तथा अस्पताल भन्ने मात्र बुझेको बताएका छन्।
स्वास्थ्यखबरले आयोजना गरेको अन्तरक्रियामा बोल्दै पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेसका महामान्त्री थापाले राजनीतिक नेतृत्वले स्वास्थ्यलाई भवन र अस्पताल भन्दा अरु नसोचेको बताएका हुन्।
उनले भने, ‘राजनीतिक नेतृत्वलाई अहिले पनि स्वास्थ्य भन्ने वित्तिकै भवन र अस्पताल यो भन्दा पर लानै सकिएको छैन।’
थापाले आफु स्वास्थ्य मन्त्री हुँदा स्थानीय तहमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी रोग पहिचान तथा प्रिभेन्सनको काम अगाडी बढाउन प्रयास गरिएको तर यसको महत्वबारेस्थानीय सरकारलाई अझै बुझाउन नसकिएको उनले बताए।
‘स्थानीय सरकारको साझेदारीमा सुरु गर्ने भनेर शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना तथा संचालनको मापदण्डहरु बनायौं, स्वास्थ्य मन्त्रालय र महानगरहरुबीच समझदारी पनि गर्यौं, तर ४/५ वर्षसम्म यतिकै रह्यो,’ उनले भने, ‘सायद यसको महत्व स्थानीय तहलाई बुझाउन सकेनौं।’
स्थानीय तहले शहरी स्वास्थ्य प्रवद्धन केन्द्रबाट हुने स्वास्थ्य सचेतना र स्क्रिनिङको कामलाई कामको रुपमा नलिएको र स्थानीय तहका जनप्रतिनिधिलाई स्क्रिनिङ र सचेतनाका कार्यक्रमलाई कामको रुपमा बुझाउन नसकेको उनले बताए।
उनले कोभिडको समयमा काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा भने शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिएको बताए।
सोही वडाको केन्द्रबाट प्रवाह हुने सेवाबाट प्रभावित भएर केही स्थानीय तहले पनि शहरी स्वास्थ्य केन्द्रको स्थापना सुरु गर्न लागेको उनले जानकारी दिए।
संचारमाध्यमले स्वास्थ्य क्षेत्रमा हुने सरुवा बढुवा तथा राजनीतिक झगडालाई प्राथमिकतामा राखेर समाचार सम्प्रेशण गर्ने गरेको भन्दै उनले स्वास्थ्य क्षेत्रमा सकारात्मक समाचार सम्प्रेशण गर्ने सञ्चार माध्यम आवश्यक भएको थापाले बताए।
स्वास्थ्य क्षेत्रमा गरिने लगानीले राजनीतिक महत्वमा पनि भूमिका खेल्ने भन्दै थापाले स्थानीय तहमा रहेका जनप्रतिनिधिलाई स्वास्थ्यमा लगानी गर्दा राजनीतिक भ्यालु हुने कुरा मिडियाले बुझाइदिन आवश्यक रहेको पनि बताए।
थापाले भने, ‘कुनै स्थानीय तहले स्कुलमा, महिलाको हेल्थमा वा स्वास्थ्य क्षेत्रमा काम गरेको छ भने त्यसलाई भ्यालु हुने गरी समाचार बनाइदियौं भने त्यहाँको राजनीतिज्ञ स्वास्थ्य क्षेत्रमा काम गर्न आफैं सक्रिय हुन्छ।’
उनले मंगलबारसम्म स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मन्त्री पाउने र त्यसपछि स्वास्थ्यको कामले केही गति लिनसक्ने पनि बताए।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखाका प्रमुख डा कृष्ण पौडेलले नेपालमा नसर्ने रोगको भार बढ्दै गएकाले नसर्ने रोगबारे नागरिकलाई सुसुचित गराउने जिम्मेवारी मिडियाको भएको बताए।
स्वास्थ्य क्षेत्रको सचेतना प्रवाह एकपटक गरेर मात्र सम्भव नभएको भन्दै उनले सचेतनाका कार्यक्रम निरन्तर गर्नुपर्ने पनि जानकारी दिए।