काठमाडौं– खोटाङको बराहपोखरी गाउँपालिका-२ निवासी क्यान्सर पीडित चन्द्रकुमार राईका लागि १७ लाख १ हजार ८६६ रुपैयाँ सहयोग संकलन भएको छ।
समाजसेवी केदार आले मगरको नेतृत्वमा सञ्चालित ‘क्यान्सर पीडित चन्द्रकुमार राई बचाऊ अभियान’बाट संकलन भएको रकम आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै हस्तान्तरण गरेको केदार आलेले जानकारी दिए।
कार्यक्रमका प्रमुख अथिति खोटाङ जिल्लाका संघिय सांसद रामकुमार राई ‘पासाङ’, मुख्य अभियन्ता केदार आले, समाजसेवी ध्यानकुमार राईलगायत अन्य अथितिले संयुक्त रुपमा उक्त रकम चन्द्रकुमार राईलाई हस्तान्तरण गरेका हुन्।
सो कार्यक्रममा बोल्दै सांसद पासाङले दुख, पिडामा एक जुट भएर सहयोग रकम संकलन गर्नु धेरै राम्रो काम भएको बताए। उनले एक व्यक्तिलाई दु:ख पर्दा सबैजना एक भएर लागेको देख्दा खुशी लागेको बताए।
त्यस्तै, कार्यक्रममा अध्यक्षता ग्रहण गरेका केदार आलेले आफ्नो नेतृत्वमा राम्रै सहयोग रकम संकलन गर्न सफल भएको बताए। उनले अन्य बिरामीहरुलाई पनि यस्तै अभियानबाट सहयोग गर्दै आएको बताए। त्यतै, उनले भावी दिनहरुमा पनि यस्तै समाजसेवा गर्दै जाने बताए। यस अभियानमा हरि श्रेष्ठ, कुकल श्रेष्ठ, प्रकाश बन्जारा र इश्वर बन्जाराको पनि सहयोग रहेको केदार आलेले जानकारी दिए।