काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छ्न्। १० दलीय गठबन्धनको बिहीबारको बैठकमा जुटेको सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।
नेकपा माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले शुक्रबार दिउँसो ३ बजेसम्म नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण गराउनेगरी तयारी भइरहेको जानकारी दिए।
बिहीबार बसेको गठबन्धनको बैठकले मन्त्रालयहरुको भागबण्डा टुंग्याएको थियो।
हालसम्मको सहमतिमा नेपाली कांग्रेसले ८‚ नेकपा माओवादी केन्द्रले ५‚ एकीकृत समाजवादी पार्टीले २, जसपाले २, लोसपाले १, जनमतले १, नागरिक उन्मुक्तिले १, नेसपाले १ र आम नागरिक पार्टीले १ मन्त्रालय पाउने भएका छन्।
गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने सहमति भएको छ।
माओवादीले उपप्रधानसहित गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो। एकिकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ।
नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको सहमति भएको छ।
अन्तिम समयमा केही मन्त्रालय हेरफेर पनि हुन सक्ने स्रोतले बतायो।
स्वास्थ्य मन्त्रीमा मोहन बस्नेतको नाम, अरु मन्त्री को को?
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षामन्त्री बनेर सरकारमा दलको नेतृत्व गर्ने बताइएको छ।अर्का उपसभापति धनराज गुरुङ सामान्य प्रशासन, प्रकाशशरण महत अर्थ, रमेश रिजाललाई परराष्ट्र, एनपी साउदलाई सहरी विकास, सीता गुरुङलाई भूमि व्यवस्था, डिगबहादुर लिम्बूलाई न्याय, कानुन तथा संसदीय मामिला र मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी छ। प्रस्तावित केही नाम परिवर्तन हुन सक्ने एक नेताले बताए।
स्वास्थ्य मन्त्री बन्ने सम्भावना रहेका बस्नेत यसअघि स्वास्थ्य राज्यमन्त्री भइसकेका थिए।
माओवादीबाट अहिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय पाउने भएका छन्। सञ्चारमन्त्रीमा रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराती छन्। अमनलाल मोदीले महिला तथा बालबालिका मन्त्रालय पाउने भएका छन्। शक्ति बस्नेतलाई ऊर्जा मन्त्रालय दिने तयारी छ। माओवादीबाटै सुशीला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छिन्।
एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले कृषि मन्त्रालय पाउने भएका छन्। पार्टी उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका छन्।
जसपाले शिक्षा मन्त्रालय लिने भएको छ, अर्को मन्त्रालय भने टुंगो लाग्न बाँकी रहेको छ। लोसपाबाट वरिष्ठ नेता शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन्। नेसपाबाट महिन्द्र राय यादव खानेपानीमन्त्री बन्ने तयारी छ। नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ युवा तथा खेलकुद मन्त्री हुने भएकी छन्।
हाल खानेपानीमन्त्री रहेका जनमतका अब्दुल खानले उद्योग मन्त्रालय खोजेका छन्। आम जनता पार्टीबाट अध्यक्ष प्रभु साहका लागि मन्त्रालय टुंगिन बाँकी छ। राष्ट्रिय स्वतन्त्र पाटीलाई भने उपनिर्वाचनपछि सरकारमा सहभागी गराउने समझदारी भएको एक नेताले जानकारी दिए।