काठमाडौं- सत्तारुढ १० दलले सरकारका न्यूनतम साझा कार्यक्रमका विषयहरु ल्याउने भएको छ। सत्ता साझेदार दलहरुको बैठकले सरकारका प्राथमिकता र साझा न्यूनतम कार्यक्रमहरु तयार पारेको हो।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी गरी १० दलले उक्त साझा कार्यक्रमलाई अन्तिम रुप दिइसकेका छन्।
न्यूनतम साझा कार्यक्रममा स्वास्थ्यका विषयमा कुनै नयाँ र उल्लेख्य विषय समावेश छैन। संविधानले नै ग्यारेन्टी गरेको विषयलाई न्यूनतम साझा कार्यक्रममा राखिएको छ।
न्यूनतम साझा कार्यक्रममा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउने। स्वास्थ्यमा जनताको सरल र सहज पहुँच स्थापित गर्न स्वास्थ्य केन्द्र र आधारभूत अस्पतालहरुलाई विस्तार गरी स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्याउने, प्रदेशमा विशिष्टकृत अस्पताल स्थापना गर्ने लगायतका विषयहरु नै छन्।
हेरौं न्यूनतम साझा कार्यक्रममा परेका स्वास्थ्यका विषय
प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउने। स्वास्थ्यमा जनताको सरल र सहज पहुँच स्थापित गर्न स्वास्थ्य केन्द्र र आधारभूत अस्पतालहरुलाई विस्तार गरी स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्याउने ।
सबै प्रदेशमा विशिष्टकृत अस्पताल स्थापना गर्ने।
स्वास्थ्य बिमाको व्यवस्थालाई प्रभावकारी बनाउने। उच्च रक्तचाप मधुमेह क्यान्सर दम मिर्गौला कलेजो र महिलाहरुको पाठेघरसम्बन्धी रोगको उपचारका लागि सरकराले दिई राखेको सहयोगको दायरा विस्तार गर्ने।
सुरक्षित मातृत्व तथा प्रजनन अधिकारसम्बन्धी ऐनलाई यथासिघ्र कार्यान्वयन गर्न नियमावली तथा कार्यविधि निर्माणय गर्ने।
कर्णाली प्रदेश लगायत मानव विकास सूचाङ्क कम भएका क्षेत्रमा गर्भवती सुत्केरी मिहला र कुपोषणबाट प्रभावित बालबालिकाहरुलाई पोषणका कार्यक्रम प्रभावकारी बनाउने।