काठमाडौं- चितवनस्थित भरतपुर अस्पतालले अस्पताल परिसरभित्र सुर्तीजन्य पदार्थको विक्रि वितरण र सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ।
अस्पतालले एक सूचना जारी गर्दै अस्पताल परिसरभित्र गुट्का-चुरोट-पराग विडी खैनी जस्ता सुर्तीजन्य पदार्थ तथा मादक पदार्थ सेवन गरेको पाइएमा एक हजार र बिक्रि गरेको पाइएमा ५ हजारसम्म जरिवाना गर्ने जनाएको छ।
अस्पताल परिसर धुम्रपान तथा मद्यपान निषेधित क्षेत्र भएकाले उक्त निर्णय गरिएको अस्पताल प्रशासनले जनाएको छ।
‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८’ अनुसार अस्पताल, शैक्षिक संस्था, सार्वजनिक स्थान र मन्दिर छेउछाउमा सूर्तिजन्य पदार्थको बिक्रि वितरण र प्रयोग गर्न पाइँदैन।
यो ऐनले सार्वजनिक स्थानमा चुरोट, बिडी, गुट्खा, कच्चा सूर्ति, खैनी बिक्रि वितरण र सेवन गर्न बर्जित गरेको छ। अस्पताल लगायत शैक्षिक संस्थाको एक सय मिटर वरपर सूर्तिजन्य पदार्थको बिक्रि वितरण गर्न नपाइने ऐनमा उल्लेख छ।