काठमाडौं- माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले मंगलबार नै सत्तारुढ गठबन्धनको बैठक गरी मन्त्रिपरिषद् विस्तार गर्ने बिफ्रिङ गरेका छन्। अस्ति शनिबारको पदाधिकारी बैठकमा पनि उनले सोमबारसम्म मन्त्रिपरिषद विस्तार भइसक्ने दावी गरेका थिए।
हुनत प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत लिएपछि त्यसको दुईदेखि चार दिनभित्रै मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका थिए। तर उनले भनेका कुनै पनि मितिमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। उनले आज मंगलबारका लागि राखेको भाकामा पनि अन्य दलहरुको अविश्वास देखिन्छ।
सोमबार पार्टीको पदाधिकारी बैठकअघि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्। तीन शीर्ष नेताहरुको छलफलपछि मंगलबार ४ बजेका लागि सत्तारुढ ११ दलको बैठक बोलाउने निर्णय भएको छ। तर उक्त बैठकले पनि मन्त्रिपरिषद विस्तारको बाटो खोल्छ भन्नेमा आशंका भने कायमै देखिन्छ।
प्रधानमन्त्री र कांग्रेस सभापतिसँगको छलफलपछि पार्टी कार्यालय पुगेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले मन्त्रालय बाडँफाटमा दलहरुबीच अझै समझदारी नभएको बताएका छन्। नेपालले आफूहरुले पाउने मन्त्रालयको अहिलेसम्म टुंगो नलागेको पनि दाबी गरेका छन्। यसले आज मंगलबार नै बस्ने सत्तारुढ दलहरुको बैठकले मन्त्रिपरिषद विस्तारको टुंगो लगाउला भन्नेमा आशंका नै देखिन्छ।
शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले सोमबारका लागि टुंगो लगाएको कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठक पनि मंगलबारका लागि सारिएको थियो। मंगलबार बिहान बस्ने कार्यसम्पादन समितिको बैठक उपनिर्वाचनका उम्मेदवार तय गर्न बोलाइएको कांग्रेसका एक नेताले बताएका थिए। तर कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार भने स्थगित हुँदै बिहीबारका लागि सारिएको छ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले आफूहरुलाई मन्त्रिपरिषद् विस्तारका विषयमा अहिलेसम्म कुनै ठोस जानकारी वा सूचना पार्टीले नदिएको बताए। शनिबार बसेको पदाधिकारी बैठकमा पनि मन्त्रालय बाँडफाँटमा सहमति नजुटेको जानकारी गराइएको परियारले बताए। प्रधानमन्त्रीले पटकपटक भाका राख्दै, पूरा नगर्दै गर्दा मन्त्रिपरिषद् विस्तारको हलो केमा अड्कियो भन्ने प्रश्न उब्जिएको छ।
यो सँगै जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य मन्त्रालय पनि मन्त्रालयबिहिन नै भइरहेको देखिन्छ। स्वास्थ्यमा को मन्त्री आउने हो भन्ने विषय पनि अझै टुंगो लागेको छैन। स्वास्थ्य मन्त्रालय नै कुन पार्टीको भागमा पर्छ भन्ने विषय पनि अझै नटुंगिएको एक नेताले जानकारी दिए।
प्रमुख सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपामै मन्त्रिपरिषद् विस्तारलाई लिएर अलमल देखिएको छ भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएका साना दलहरु त बेखबर जस्तै छन्। उनीहरुलाई कुन मन्त्रालय आफूलाई दिन लागिएको भन्ने औपचारिक जानकारी समेत छैन।
मन्त्रालयको नै टुंगो लागिनसकेका कारण स्वास्थ्य मन्त्रालयमा को मन्त्री आउँछन् भन्ने अहिले नै भन्न सकिने अवस्था नरहेको प्रधानमन्त्री सचिवालयका एक कर्मचारी बताउँछन्। 'विभिन्न नेताहरुको नाममा हल्ला चलेको सुनिएको छ। तर अहिले नै कुन पार्टीबाट को आउँछन् भन्ने अवस्था छैन,' ती नेताले भने।
कांग्रेस नेताहरुले भने स्वास्थ्य मन्त्रालय आफ्नै पार्टीले लिनुपर्ने अडान लिँदै आइरहेका छन्। कांग्रेसबाट स्वास्थ्य मन्त्रीका रुपमा प्रदिप पौडेलको नाम चर्चामा आइरहेको छ। 'कांग्रेसभित्र पौडेल मन्त्री बन्ने अवस्था आएमा उनले स्वास्थ्यमा जाने इच्छा भने राखेका छन्,' कांग्रेसका एक नेताले भने।
यस्तै नेकपा समाजवादीका नेता मेटमणी चौधरीको नाममा पनि चर्चा चलेको छ। तर यसपटकको नेकपा एसले चौधरीलाई मन्त्री नबनाउने देखिएको छ। नेकपा एसले बेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउने सम्भावना बढी छ। यस्तै राजेन्द्र पाण्डे पनि मन्त्रीको दौडमा छन्। उनी जुन मन्त्रालय पाए पनि मन्त्री बन्ने दौडमा छन्।
प्रधानमन्त्रीले कांग्रेसलाई सात, माओवादीलाई पाँच, एकीकृत समाजवादी र रास्वपालाई ३/३, जसपालाई २, जनमतलाई एक, लोसपालाई एक, नागरिक उन्मुक्तिलाई एक र स्वतन्त्रमध्येबाट एक मन्त्रालय छुट्याएको सूचना बालुवाटार सचिवालयले दिएको छ।
जसपाभित्र अहिलेसम्म मन्त्री पठाउने कुनै सुरसार देखिएको छैन भने लोसपा, उन्मुक्ति लगायतका पार्टीहरु समेत बेखबर देखिएका छन्। जनमतले सुरुदेखि नै खानेपानी मन्त्रालय परिर्तवन गरेर उद्योग मन्त्रालयमा दावी गर्दै आएको छ।
यी सब परिदृश्यमा मन्त्रिपरिषद विस्तारमा दलहरु अझै कुनै ठोस सहमतिमा पुगिसकेको देखिँदैन। यद्यपि, प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एकीकृत समाजवादी, जसपासहित लोसपा र जनमत पार्टीका शीर्ष नेताहरुसँग यो बीचमा एक्लाएक्लै संवाद गरेका छन्।