काठमाडौं- सरकारले नेपालमा पहिलो पटक जनगणनासँगै मातृ मृत्युसम्बन्धी अध्ययन गरेको छ। उक्त अध्ययन प्रतिवेदनले नेपालमा एक लाख जीवित जन्ममा १५१ आमाको मृत्यु हुने गरेको देखाएको छ।
मातृ मृत्यु अनुपातको अनुमान तथा गर्भवती, प्रसूति र सुत्केरी अवधिमा हुने मातृ मृत्युका कारणहरू पहिचान गर्नका लागि राष्ट्रिय जनगणनासँगै नेपालमा पहिलो पटक मातृ मृत्युसम्बन्धी अध्ययन भएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरूको संयुक्त प्रयासमा भएको अध्ययनले मातृ मृत्युमा सुधार भएको देखाएको हो। नेपालमा पाँच वर्षअघि मातृ मृत्यु प्रतिलाख जीवित जन्ममा २३९ थियो।
यस अध्ययनले नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु १५१ रहेको देखाएको छ। लुम्बिनी र कर्णाली प्रदेशमा उच्च मातृ मृत्यु अनुपात (क्रमशः २०७ र १७२) र बाग्मतीमा न्यून मातृ मृत्यु अनुपात (९८) पाइएको छ। प्रजनन उमेर समूह (१५–४९ वर्ष) मा मृत्यु भएका कुल १२,९७६ महिलामध्ये ६५३ (पाँच प्रतिशत) महिलाको मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको देखाएको छ।
गर्भावस्थासँग सम्बन्धित ६५३ मृत्यु मध्ये ९५ प्रतिशत (६२२) मातृ मृत्यु रहेको छ। प्रजनन उमेरका महिलाको मृत्युमध्ये मातृ मृत्युको समग्र अनुपात ४.८ प्रतिशत रहेको छ। यस अध्ययनले देखाएको कुल ६२२ मातृ मृत्युमध्ये ११ मातृ मृत्युको पर्याप्त सूचना सङ्कलन नभएको हुनाले यस प्रतिवेदनमा ६११ मातृ मृत्युको कारण र अन्य विशेषताहरूको विश्लेषण गरिएको छ। मातृ मृत्यु भएका महिलाहरूमध्ये ३३ प्रतिशत महिलाको मृत्यु गर्भावस्थामा, ६ प्रतिशतको प्रसव अवस्थामा र ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा भएको पाइएको छ।
मातृ मृत्यु भएका महिलाहरूमध्ये झण्डै आधा (४७ प्रतिशत) महिलाहरूको मृत्यु लुम्बिनी र मधेश प्रदेशमा भएको पाइएको छ। मातृ मृत्यु भएका महिलाहरूमध्ये १० प्रतिशत महिलाहरूको मृत्यु किशोरावस्था (१५–१९ वर्ष) मा भएको छ। अधिकांश (५७ प्रतिशत) महिलाको मृत्यु स्वास्थ्य संस्थामा र २६ प्रतिशत महिलाको मृत्यु घरमा भएको पाइएको छ।
प्रसव र सुत्केरी अवस्थामा मृत्यु भएका कुल ४१२ मातृ मृत्युमध्ये ५३ प्रतिशत महिलाले सुरक्षित मातृत्व सेवा प्रोटोकलअनुसार चारपटक गर्भ जाँच गराएका र प्रसूति भएको ७ देखि ४२ दिनको अवधिमा मृत्यु भएका १७३ महिलाहरू मध्ये ४५ प्रतिशत महिलाले प्रोटोकलअनुसार तीन पटक सुत्केरी जाँच गराएको पाइएको छ।
त्यस्तै, मातृ मृत्यु भएका ६११ महिलामध्ये ३७ जना (६ प्रतिशत) ले गर्भपतन गराएको वा तिनको गर्भ खेर गएको पाइएको छ। प्रसूति र सुत्केरी अवधिमा मृत्यु भएका महिलामध्ये अधिकांश (७६ प्रतिशत) महिलाले स्वास्थ्य संस्थामा प्रसूती गराएका थिए। स्वास्थ्य संस्थामा प्रसूति गराएका महिलाहरूमध्ये ६२ प्रतिशत महिलाले सरकारी स्वास्थ्य संस्थामा र ३८ प्रतिशत महिलाले गैरसरकारी स्वास्थ्य संस्थामा प्रसूति गराएका थिए। सुत्केरी अवस्थामा मृत्यु भएका महिलाहरूमध्ये २७ प्रतिशत महिलामा अत्यधिक रक्तस्राव, २३ प्रतिशत महिलामा रिँगटा लाग्ने÷बेहोस वा अचेत हुने तथा १२ प्रतिशत महिलामा काम्ने समस्या भएको पाइयो।
मृत्यु भएकामध्ये अधिकांश (८३ प्रतिशत) महिला÷परिवारले मृत्यु हुनुपूर्व स्वास्थ्य सेवा लिनका लागि कुनै न कुनै स्वास्थ्य संस्थामा उपचार लिन खोजेको पाइयो। उपचार लिन नखोज्नेहरूमध्ये झन्डै आधा (४८ प्रतिशत) ले यसलाई आवश्यक नठानेको पाइयो। मातृ मृत्युको प्रमुख कारणहरूमा गैरप्रसूतिजन्य जटिलता (अप्रत्यक्ष कारण) (३२ प्रतिशत), प्रसूतिको बेलामा हुने उच्च रक्तस्राव (२६ प्रतिशत) र उच्च रक्तचापजन्य समस्या (१२ प्रतिशत) रहेको पाइएको छ। पाँच प्रतिशत मृत्यु गर्भपतनका कारणले भएको पाइयो।
गर्भावस्थामा मृत्यु भएका महिलाहरूको मृत्युको प्रमुख कारणहरूमा गैरप्रसूतिजन्य जटिलता (४० प्रतिशत), प्रसूतिसँग असम्बन्धित कारण (१७ प्रतिशत) र रक्तचापको समस्या (१४ प्रतिशत) रहेको पाइयो। प्रसवको समयमा मृत्यु भएका महिलाहरूमध्ये तीन चौथाइभन्दा बढी (७८ प्रतिशत) महिलाहरूको मृत्यु प्रसूति रक्तस्रावका कारण भएको पाइयो। सुत्केरी अवस्थामा मृत्यु भएका महिलाहरूमध्ये ३१ प्रतिशत महिलाको मृत्युको कारण प्रसूति अवस्थाको रक्तस्राव र यति नै (३१ प्रतिशत) महिलाको मृत्युको कारण गैरप्रसूति जटिलता रहेको पाइयो।
गर्भावस्थासँग सम्बन्धित मृत्यु निम्त्याउने “तीन ढिलाइ” लाई हेर्दा उपयुक्त स्वास्थ्य सेवा खोज्नमा ढिलाइ (५७ प्रतिशत), उपयुक्त स्वास्थ्य संस्था पुग्न ढिलाइ (३३ प्रतिशत) र उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न ढिलाइ (४० प्रतिशत) रहेको पाइयो। यी “तीन ढिलाइ” मध्ये अधिकांश मृतक महिला (७४ प्रतिशत) को मृत्युमा कम्तीमा एक प्रकारको ढिलाइ भएको थियो भने १७ प्रतिशत महिलाले तीनवटै ढिलाइ भोगेका थिए।
'यस अध्ययनले नेपालमा अझै पनि धेरै मातृ मृत्यु गर्भावस्थाको समयमा रक्तस्राव र उच्च रक्तचापजस्ता रोकथाम गर्न सकिने कारणले हुने देखाएको छ भने उल्लेख्य मृत्यु आत्महत्या जस्ता गैरप्रसूतिजन्य जटिलताले पनि भएको देखिन्छ। यसले स्वास्थ्य संस्थामा मातृ स्वास्थ्य सेवाको गुणस्तर र रेफरल संयन्त्रमा सुधार, आपतकालीन यातायात व्यवस्थापन र खतराका सङ्केतहरूको समयमै जाँच गर्ने व्यवस्थालाई बलियो बनाउनु पर्ने देखिन्छ,' अध्ययन प्रतिवेदनमा भनिएको छ, 'यस अध्ययनले समुदायमा आधारित मातृ मृत्यु निगरानी र प्रतिकार्य प्रणालीलाई सुदृढ गर्नुपर्ने सन्देश दिनुका अतिरिक्त आगामी राष्ट्रिय जनगणनाहरूमा पनि मातृ मृत्युको अनुपात अनुमान गर्ने र मृत्युका कारणहरूको पहिचान गर्नुपर्ने आवश्यकतालाई औंल्याएको छ।'
हेरौं पूर्णपाठ