काठमाडौं- विनयतारा क्यान्सर अस्पतालमा कार्यरत डा रुविना सुवाल पुरस्कृत भएकी छिन्। हेड एन्ड नेक सर्जिकल अंकोलोजिस्ट डा सुवाल अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीद्वारा इन्टरनेशनल इनोभेसन ग्रान्टबाट पुरस्कृत भएकी हुन्।
उनले 'मुखको क्यान्सर समयमै पत्ता लगाउन समुदायमा आधारित जाँच-पड्तालको महत्व' शिर्षकमा गरेको अनुसन्धानका लागि उक्त पुरस्कार दिइएको हो। अनुसन्धानमा डा सुवाल मुखको क्यान्सरबाट हुने प्रभाव र मृत्युका विषयमा केन्द्रीत छिन्। समुदायमा आधारित जाँच-पड्तालको महत्वको बारेमा उनले उक्त अनुसन्धान गरेकी थिइन्।
समूदायमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई यसका बारेमा तालिम दिनुपर्ने कुरामा उनले जोड दिएकी छिन्। संकेत पाउनासाथ थप जाँचका लागि रिफर गर्न सक्ने बनाउँदा उपचार प्रभावकारी हुने उनको अनुसन्धानमा उल्लेख छ।
'यो समुदायमा आधारिता मुखको क्यान्सर जाँच-पड्ताल कार्यक्रमका लागि दिइएको हो। जुन बिरामी पत्ता लगाएर समयमै उपचार गराउन महत्वपूर्ण कदम हो,' डा सुवालल भन्छिन्।
उक्त ग्रान्ट मध्य र न्युन आय भएका देशका अनुसन्धानकर्तालाई अनुसन्धानमा प्रोत्साहनका लागि दिने गरिन्छ।
'उक्त ग्रान्ट डा सुवालले पाएपछि हामी निकै खुशी भएका छौं,' विनयतारा फाउन्डेसनका प्रमुख विनय शाहले भने, 'उहाँको अनुसन्धानले मुखको क्यान्सरका बिरामीको उपचारका लागि महत्वपूर्ण भूमिका खेल्नेछ।'