काठमाडौं– राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले देशको स्वास्थ्य प्रणाली व्यवस्थित नरहेको बताएकी छिन्।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले नेपालको स्वास्थ्य प्रणाली चिन्तजनक रहेको बताइन्। एउटा अस्पतालबाट अर्को अस्पताल धाउँदा एम्बुलेन्सभित्र नै बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता सिर्जना भएको उनको भनाइ छ।
उनले स्वास्थ्य प्रणाली व्यवस्थित नहुँदा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, संघीयता, तीन तहका सरकारहरुको उपलब्धि नदेखिएको बताइन्। सांसद थापाले तीन तहका सरकारहरुको बीचमा समन्वय र सहकार्य नहुँदा नागरिकहरुले दुःख पाइरहेको उल्लेख गरिन्।
संघीय सरकार अन्तर्गतका अस्पतालहरु पनि नागरिकमैत्री बन्न नसकेको उनको गुनासो छ। अस्पतालहरु बिरामीमैत्री नभएकाले दीर्घकालीन रोगहरुको चाप बढेको उनले बताइन्।