धनगढी– कैलालीमा एक अस्पताल र एक फार्मेसी सिल गरिएको छ। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको नेतृत्वमा औषधि व्यवस्था विभागको टोलीले कैलालीको गोदावरी नगरपालिकामा सञ्चालनमा रहेका एक सामुदायिक अस्पताल र एक फार्मेसीमा सिल गरेको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार अत्तरियामा सञ्चालनमा रहेको नेहा फार्मेसी र सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पताल सिल गरिएको हो।
टोलीले कैलालीका आठवटा फार्मेसी तथा अस्पतालमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा फार्मेसी दर्ता नभएको, नवीकरण नभएको, सञ्चालक अनुपस्थित रहेको, लागूऔषध तथा मानसिक रोगसम्बन्धीका औषधिहरुको अभिलेखिकरण नगरेका लगायतका कमजोरी अनुगमनका क्रममा फेला परेको उनले बताए।
सामाजिक विकास मन्त्रालयका योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख हेमराज खडकाले कैलालीका फार्मेसी तथा क्लिनिकहरुबारे मन्त्रालयमा गुनासो बढ्न थालेपछि बजार अनुगमन गरिएको बताए।
उनले भने, ‘बजार अनुगमन भएमा फार्मेसी, क्लिनिक तथा अस्पतालमा भइरहेका कमीकमजोरीहरु सुधार हुँदै जान्छ। अब यसलाई नियमित दिइने छ।’ उनले अनुगमनका क्रममा भेटिएका त्रुटिहरुलाई सच्याउन सुझाव दिएको बताए।