काठमाडौं- सन् २०२१ मा एशिया प्यासिफिक क्षेत्रमा ६७ लाख बढी क्षयरोगका नयाँ बिरामी फेला परेका छन्। विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको ‘ग्लोबल टिबी रिपोर्ट’ अनुसार २०२१ मै ८ लाख ८३ हजार बिरामीले क्षयरोगकै कारण ज्यान गुमाएका थिए।
सो क्षेत्रमा सन् २०२१ मा कुपोषण, सुर्तीजन्य पदार्थको प्रयोग,रक्सी,मधुमेह र एचआईभी क्षयरोग निम्त्याउने शीर्ष पाँच प्रमुख कारकहरू भएको रिपोर्टले देखाएको छ। उक्त रिपोर्ट अनुसार कुपोषणको कारण १२ लाख, सुर्तीजन्य पदार्थको प्रयोगको कारण ५ लाख २ हजार, रक्सीको कारण ४ लाख ८६ हजार, मधुमेहको कारण २ लाख ३४ हजार र एचआईभीको कारण २ लाख ९ हजार नयाँ बिरामी थपिएका हुन्।
द यूनियन एशिया प्यासिफिक क्षेत्रका निर्देशक डा तारासिंह बम क्षयरोगबिरुद्धको उपचारलाई पहुँचयोग्य बनाउनुपर्ने बताउँछन्। त्यसका लागि क्षयरोगको प्रमुख कारक मानिएको सुर्ती तथा मदिराजन्य पदार्थको प्रयोगलाई कडाईका साथ नियन्त्रण गर्नुपर्ने, मधुमेहको रोकथाम र हेरचाह, एचआईभी र क्षयरोगलाई समन्वयात्मक ढंगले अघि बढाउन आवश्यक रहेको उनले बताए।
उनले भने- क्षयरोग रोकथाम गर्न सकिने रोग हो तर पनि सन् २०२१ मा यस क्षेत्रमा क्षयरोग लागेका ६७ लाख व्यक्तिहरु भेटिएका छन्। यसको अर्थ हामीले अझै यसको नियन्त्रणको लागि सबै मिलेर प्रभावकारी काम गर्न सकिन्छ भन्ने हो।'
द युनियनद्धारा जारी विज्ञप्तीमा क्षयरोगको अन्त्य गर्न तत्काल बलियो सहयोगात्मक कामहरुको आवश्यकता भएको भनिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘सन् २०३० सम्म क्षयरोगको अन्त्य गर्ने हो भने हामीलाई तत्काल बलियो सहयोगात्मक कामहरुको आवश्यकता छ। ताकि हामीले क्षयरोग निदान, रोकथाम उपचार र हेरचाह सेवाहरुलाई आवश्यक पर्ने सबैसम्म पुग्न सकियोस्। तर त्यसका लागि स्वास्थ्य प्रणालीलाई बलिायो बनाउनु आवश्यक हुन्छ। स्वास्थ्य प्रणाली बलियो बनाउनको लागि सुर्तीजन्य, मदिराजन्य लगायतका पदार्थहरुको प्रयोगलाई बन्देज गर्नुपर्छ।’
एशिया प्यासिफिक क्षेत्रका देशहरुमा क्षयरोग, धूमपान, नसर्ने रोग वा खाद्य सुरक्षा जस्ता कार्यक्रमलाई राष्ट्रिय रुपमा बढाइएको छ। तर पनि यो क्षेत्रमा क्षयरोगीको सङ्ख्या बढिरहेको छ र धेरैको मृत्यु समेत भइसकेको छ।
क्षेत्रीय निर्देशक डा बम यसका लागि स्थानीय तहमा सुर्तीजन्य, मदिराजन्य,अन्य नसर्ने रोग वा कुपोषणविरुद्ध काम गर्नु पर्ने बताउँछन्। 'स्थानीय तहमा अग्रपंक्तिमा काम गर्नेहरुलाई सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थ अन्य नसर्ने रोग र कुपोषणविरुद्ध समेत काम गर्नु पर्ने आवश्यकता छ। जसको कारण क्षयरोग हुने जोखिम कम गर्न सकिन्छ। यसका लागि मिलेर काम गर्नुपर्छ,' उनले भने।
द युनियन द्धारा प्रकाशित विज्ञप्तिमा क्षयरोगको जोखिम कम गर्न या रोग हटाउन सम्बन्धित निकायहरु मिलेर प्रतिवद्द भएर काम गर्नुपर्ने भनिएको छ। क्षयरोग अन्त्य भएमा स्वास्थ्य प्रणाली बलियो हुने र विकास सूचकांकहरू बलियो हुने विज्ञहरुको भनाई छ।