काठमाडौं- नेपालमा मातृ मृत्युमा उल्लेख्य सुधार आएको सरकारको अध्ययनले देखाएको छ। राष्ट्रिय जनगणनाले नेपालमा प्रति एकलाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने देखाएको छ।
पाँच वर्ष अघि नेपालमा मातृ मृत्यु २३९ जना रहेको छ। जनगणनासँगै यसपटक मातृ मृत्युका विषयमा पनि अध्ययन भएको थियो। उक्त अध्ययनले नेपालमा एक लाख जीवित जन्ममा १५१ जनाको मृत्यु देखाएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन गरिएको हो।
गर्भास्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर भनिन्छ।
जनगणानाका समयमा जनगणनाका गणकहरुले गणनाको क्रममा कुनै घरपरिवारमा एक वर्षभित्रमा कुनै महिलाको प्रसूतिको समयमा मृत्यु भएको छ वा छैन भनि अध्ययन गरेका थिए। यदी कुनै घरमा महिलाको मृत्यु भएको छ भन्ने यकिन भएमा गणकहरुले स्थानीय स्वास्थ्यकर्मीलाई जानकारी गराउने छन्। त्यसपछि स्वास्थ्यकर्मीले मातृ मृत्यु भएको घरमा पुगेर ‘भर्वल अटप्सि’ प्रश्नावली भरेका थिए।
प्रजनन् उमेरका महिलाहरुको मृत्युमध्ये करिब १२ प्रतिशत महिलाको मृत्युको कारण मातृ मृत्यु रहेको पाइन्छ। सन् २०१६ मा एक लाख जीवित जन्ममा मातृ मृत्यु अनुपात २३९ रहेको छ। दिगो विकासको लक्ष्य अनुरुप सन् २०३० सम्ममा यो अनुपात ७० मा झार्ने सरकारको लक्ष्य छ।
कुन प्रदेशमा कति आमाको मृत्यु?
जनगणनाको प्रतिवेदन अनुसार देशभरमा प्रति एक लाख जीवित जन्ममा १५१ मातृ मृत्यु रहे पनि सबैभन्दा बढी लुम्बिनी प्रदेशमा अझै पनि २०७ आमाको मृत्यु भएको छ। त्यसपछि कर्णाली प्रदेशमा १७२, गण्डकीमा १६१, कोशी प्रदेशमा १५७, मधेश प्रदेशमा १४०, सुदूरपश्चिम प्रदेशमा १३० र बागमती प्रदेशमा ९८ आमाहरुको मृत्यु भएको छ।
प्रतिवेदन अनुसार अध्ययनका क्रममा गर्भावस्थासँग सम्बन्धित ६५३ मृत्यु मध्ये ९५ प्रतिशत ६२२ मातृ मृत्यु रहेको छ। प्रजनन उमेरका महिलाको मृत्युमध्ये मातृ मृत्युको समग्र अनुपात ४.८ प्रतिशत रहेको छ। मातृ मृत्यु भएका महिलाहरूमध्ये ३३ प्रतिशत महिलाको मृत्यु गर्भावस्थामा, ६ प्रतिशतको प्रसव अवस्थामा र ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा भएको पाइएको छ।