मार्च चौबीस तारिखमा मनाउने दिवस,
क्षयरोगको सिकार बन्न नहोस् कोही विवश।
लामो समय खोकी लाग्नु, ज्वरो पनि आउनु,
खानै मन नलाग्नु र दुब्लाउँदै जानु।
छाती दुख्नु, खकारमा रगत देखा पर्नु,
यी र यस्ता लक्षण भए पक्कै शंका गर्नु।
शंका लाग्नासाथ गराउनु खकार परीक्षण,
निदान भए उपचार छ उपलब्ध तत्क्षण।
जान दु:ख नमानौं नजिकैको स्वास्थ्य संस्था,
व्यर्थ कष्ट खेप्नु पर्छ रोग पालेर बस्दा।
नि:शुल्क छ औषधि, सहज उपचार,
बेलैमा सचेत रहौं, बनौं होसियार।
खोजी गरौं सँगसँगै म-तपाईं-हामी,
समुदायमा लुकेर बसेका बिरामी।
स्वास्थ्य सेवाको पहुँचमा पुगे सबै जना,
समस्याको समाधान हुन्छ सोह्रै आना।
ढिला नगरी क्षयरोगको क्षति रोक्नु पर्छ,
सरोकारवाला सबैले जिम्मेवारी बोक्नु पर्छ।
सरकारी, निजी र गैरसरकारी क्षेत्र,
सबै जुटी खुलाउनु छ चेतनाको नेत्र।
इमान्दार भै सामूहिक प्रयासमा लागौं,
जवाफदेही बनौं सबै निजी स्वार्थ त्यागौं।
भावी पुस्ताका लागि बनोस् कथा दन्त्य,
सबै मिले सम्भव छ क्षयरोगको अन्त्य।