काठमाडौं- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रभित्र गुट्खा बिक्री गर्न रोक लगाएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै गुट्खा बिक्री वितरणमा प्रतिवन्ध लगाएको हो।
नगरपालिकाले गुट्खा बिक्री वितरण गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय पनि गरेको छ।गुट्खाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने तथा सो बाट निस्कने फोहरले नगर क्षेत्रको सौन्दर्यतामा समेत प्रतिकुल असर पर्ने भएकोले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
मंगलबार प्रकाशित सूचनामा नगरपालिकाले पहिलो, दोस्रो र तेस्रो पटक गरी जरिवानाको फरक दर निर्धारण गरेको छ। त्यसमा डिलर व्यवसायीहरुलाई पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार र तेस्रो पटक ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । यस्तै अन्य व्यवसायीहरुलाई पहिलो पटक १५ सय, दोस्रो पटक ३ हजार र तेस्रो पटक ५ हजार रुपैयाँ जरिवाना तोकिएको उल्लेख छ।
सूचनामा यो निर्णय १५ दिन भित्रै पूर्ण रुपमा कार्यान्वयनमा आउनु पर्ने भन्दै त्यसपछि गरिने अनुगमनमा निर्णय विपरितका गतिविधि भएको पाइए जरिवाना तोकिने उल्लेख छ।
हेरौं सूचना