काठमाडौं- नेपालमा निसन्तानपनको उपचार तथा अन्य स्वास्थ्य सेवा निकै महँगो भएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। मदर एन्ड चाइल्ड हेल्थ कमिटी रोटरी डिस्ट्रिक्ट ३२९२ को आयोजनमा मंगलबार आयोजिन एक कार्यक्रममा सरोकारवालाले निसन्तापन उपचार सेवालाई सर्वसुलह र सहज बनाउन जोड दिएका हुन्।
निसन्तानपनको आयामहरुका विषयमा आयोजित कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पर्टीकी सांसद डा तोसिमा कार्कीले निसन्तानपनको उपचार सेवा आर्थिक हिसाबले गरिबको पहुँचमा पनि हुनुपर्नेमा जोड दिइन्।
'प्रजनन अधिकारका विषयमा सबै महिलाको हक हुनेछ। त्यसकारण निसन्तानपनको उपचार सेवा धनीका लागि मात्र उपलब्ध हुनु हुँदैन। यसको शुल्कमा सरकारले सोच्ने बेला आइसकेको छ। म मेरो तर्फबाट पनि यसका लागि काम गर्छु,' उनले भनिन्।
उनले निसन्तानपनको उपचार लगायतका विषयमा सरकाररदेखि अन्य सम्बन्धित क्षेत्रले समेत ध्यान नदिएको भन्दै यसका लागि आफू संसददेखि सरकारसम्म काम गर्न तयार रहेको बताइन्। उनले निसन्तानपनको उपचार तथा स्वास्थ्यका विषयमा कानुन तथा मापदण्ड बनाउने विषयमा आफू लागिपर्ने भन्दै सरोकारवालासँग यसका लागि हातेमालो गर्न पनि आग्रह गरिन्।
वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं नेपालमा निसन्तापनको उपचारका लागि इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) सेवा सुरु गर्ने डा भोला रिजालले सरकारले यसको उपचार तथा यसका उपकरण लगायतका विषयमा सहयोग गर्ने हो भने शुल्कमा धेरै कमी आउने बताए।
'हामी पनि शुल्क कम गराउने पक्षमा छौं। तर यसका औषधि तथा अन्य प्रक्रियागत कुराहरुका कारण महँगो पर्न जान्छ,' उनले भने, 'त्यसकारण सरकारले यो क्षेत्रमा सहयोग गर्ने हो भनि हामी पनि साथ र सहयोग गर्न तयार छौं। शुल्क घट्यो भने धेरै भन्दा धेरै उपचारको पहुँचमा आउँछन्।' डा रिजालले नेपालमा झण्डै १५ प्रतिशत दम्पतिमा निसन्तापनको समस्या रहेको जानकारी दिए।
डा सुनिति आचार्यले निसन्तापनको उपचार सेवालाई काठमाडौं र सहर केन्द्रित मात्र नभई देशका अन्य क्षेत्रमा पनि विस्तार गर्न आवश्यक रहेको कुरामा जोड दिइन्।
कार्यक्रममा स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाकी अमृता पहाडीले निसन्तानपनको उपचारका क्षेत्रमा मापदण्ड बनाउने काम भइरहेको जानकारी दिइन्। उनले हाल भइरहेका संस्थाहरुको अनुमगनसँगै नयाँ आउने संस्थाको नियमनसँगै गुणस्तरीय सेवाको सुनिश्चितताका लागि मापदण्ड निर्माणको काम अगाडि बढीरहेको जानकारी दिइन्।
विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि डा पुजा प्रधान र यूएनएफपीएका प्रतिनिधि अजय आचार्यले दुवै संस्थाले निसन्तानपनको क्षेत्रमा काम गरिरहेको र प्राथमिकता बढाउँदै लगेको जानकारी दिए।
आचार्यले पनि शुल्कका विषयमा पछिल्लो समयमा धेरैको चासो रहेको विषय उठाएका थिए।
कार्यक्रममा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा निरशोभा प्रधानले निसन्तानपनका कारण र यसको उपचार लगायतका विषयमा जानकारी दिएकी थिइन्।
नेपालमा निसन्तानपनको उपचार विशेषगरी आइभिएफमा शुल्कमा एकरुपता छैन। संस्था अनुसार दुई देखि सात लाखसम्म लिने गरेको पाइन्छ।