काठमाडौं- भरतपुर अस्पतालले चिकित्सकलाई ज्यालादारीका रुपमा नियुक्त गर्न लागेको विषयमा ध्यानाकर्षण गर्दै नेपाल चिकित्सक संघले स्थायी नियुक्तीका लागि लाग्न विज्ञप्ति निकालेपछि अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलले प्रतिक्रिया दिएका छन्।
मेसु डा पौडेलले संघको विज्ञप्तिप्रति मुलभुत रुपमा समर्थन जनाउँदै मुहानमै समस्या समाधान गर्न जोड दिएका छन्।
डा पौडेलले अस्पतालको विज्ञापन त्रुटिपूर्ण नभई समग्र देशको परिस्थिती नै त्रुटिपूर्ण रहेको कुरामा जोड दिएका छन्। उनले स्वीकृत दरबन्दी बेगर करारमा नियुक्त गर्न नपाइने हुँदा ज्यालादारीमा राख्नु परेको विषयलाई प्रष्ट पार्न खोजेका छन्।
उनले चिकित्सकको अहिले देखिएको ज्यालादारी र करारको समस्यालाई समाधान गर्न दरबन्दी नै थप गर्नुपर्ने र यसका लागि चिकित्सक संघले पहल गर्नुपर्नेमा पनि जोड दिएका छन्।
'अर्थ मन्त्रालयदेखि प्रधानमन्त्रीसम्म ठूला सरकारी अस्पतालमा तुरुन्त दरबन्दी थप्न नेपाल चिकित्सक संघले पहल गर्नुपर्यो। अनि बल्ल खास अर्थ लाग्छ नत्र सबै कुरा रियाक्सनरी हुन जेन्यून होइनन्। खोलो सफा गर्न लागौं कुलो आफैं सफा हुन्छ,' उनले भनेका छन्।
हेरौं डा पौडेलको प्रतिक्रिया
नेपाल चिकित्सक संघको विज्ञप्ति प्रति मुलभुत रुपमा हाम्रो पनि समर्थन छ। तर समस्या मुहानमा भएपछि मुहानमै ध्यान केन्द्रित गर्नुपर्छ (स्वास्थ्य र अर्थ मन्त्रालय) ।भरतपुर अस्पतालको चिकित्सकहरुको विज्ञापन त्रुटिपुर्ण होइन। समग्र देशको परिस्थिती त्रुटिपूर्ण हो। चि वि रा प्र विर अस्पतालमा राष्ट्रिय सतर्कता केन्द्रले दरबन्दी बेगर ९२ कर्मचारी भर्ति गर्यो भनेर मिडियामा रिपोर्ट आएको धेरै भएको छैन।स्विकृत दरबन्दी बेगर 'करार' नियुक्त गर्न पाइँदैन।कानुनले समाते अगाडी पछाडि त कोहि हुने हैन। न त संगठनले नै जोगाउने हो। O n M survey अनुसार दरबन्दी थपिंदैन अनि भिड कन्ट्रोल गर्न निर्देशन मात्र आऊँछ।अर्थमन्त्रालय देखि प्रधानमन्त्रीसम्म ठुला सरकारी अस्पतालमा तुरुन्त दरबन्दी थप्न ने चि संघले पहल गर्नुपरयो अनि बल्ल खास अर्थ लाग्छ नत्र सबै कुरा Reactionary हुन् Genuine होइनन्। खोलो सफा गर्न लागौं; कुलो आँफै सफा हुन्छ।