काठमाडौं- नेपाल चिकित्सक संघले निजामती कर्मचारी अस्पतालले एमडी/एमएस र एमडिएस चिकित्सकलाई तहगत रुपमा घटुवा गरेर आठौं तहमा कर्मचारी भर्ना गर्न लागिएको विषयमा आपत्ति जनाएको छ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै अस्पतालले आह्वान गरेको स्थायी पदपूर्ति सम्बन्धि विज्ञापनमा गम्भीर ध्यानाकर्षण गरेको हो। अस्पतालले फागुन ३० गते स्थायी पदपूर्तिका लागि सूचना निकालेको थियो।
उक्त सूचनामा एमडी एमएस र एमडिएस पास भइसकेका चिकित्सकलाई पनि मेडिकल अफिसरका रुपमा आठौं तहमा भर्ना गर्न खोजिएको छ। संघले उक्त कार्य कानुन विपरित रहेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ।
'स्वास्थ्य सेवा ऐन २०५३ र कार्यविधि २०५५ को दफा ८ को उपदफा १ को खण्ड च र छ बमोजिम खुला प्रतियोगिताद्वारा पूर्ति गरिने पदका लागि अनुसूची ६ मा उल्लेखित एमडी/एमएस/एमडिएस पश्चातका चिकित्सकहरुलाई ९औं र ११औं तह हुने नियमलाई लत्याउँदै विगत लामो समयदेखि स्थायी, अस्थायी करार र ज्यालादारीमा कार्यरत चिकित्सकहरुको स्थायीत्वमा असर पर्ने गरी छापिएको विज्ञापनमा एमडी/एमएस/एमडिएस चिकित्सकहरुलाई तहगत रुपमा घटुवा गरेर आठौं तहमा भर्ना खोल्ने प्रचलित कानुन विपरित भएको ठहर छ,' विज्ञप्तिमा भनिएको छ।
हेरौं विज्ञप्तिको पूर्णपाठ