काठमाडौं - आज २० मार्च अर्थात् विश्व मुख स्वास्थ्य दिवस। यो दिवस नेपाल सहित विश्वभर मनाईदैछ। मुख स्वास्थ्य दिवस मनाइँदै गर्दा सर्वसाधारणमा मुख स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने प्रयास गरिन्छ।
सबैलाई जानकारी भएकै कुरा हो, मुखलाई स्वस्थ राख्नु भनेको स्वस्थ जीवनयापनको लागि अपरिहार्य शर्त हो। मुख स्वस्थ हुनु/नहुनुले शारीरिक, भौतिक स्वास्थ्यसँग मात्र सम्बन्ध राख्दैन। यसको सम्बन्ध सामाजिक र मानसिक पक्षसँग पनि जोडिएको हुन्छ।
विकसित देशहरूमा गरेको अनुसन्धानले हरेक तीन जनामा एक जना व्यक्ति दाँतका कारण जागिरका लागि हुने अन्तरवार्तामा असफल भएको पाइएको छ। नेपालमा पनि नेपाल पुलिस, आर्मी र ब्रिटिश आर्मीमा छनोट हुनका लागि दाँत स्वस्थ हुनुपर्ने हुन्छ। उक्त भर्तीको समयमा दन्त अस्पतालहरूमा दाँत बनाउन धेरै युवा युवतीहरु आउने गर्दछन्। यसरी दाँत स्वस्थ राख्नुको बहुआयामिक महत्व छ। त्यसैले भर्ना जागिरमा हुने अथवा समस्या आउने बेला मात्र नभएर दाँत मुखको स्वास्थ्यमा नियमित ध्यान दिनुपर्दछ।
खाना खाइसकेपछि दिनमा दुई पटक दाँत माझ्ने, गुलियो लगायत खानेकुरा खाएपछि राम्रोसँग मुख कुल्ला गर्ने, दाँतमा टाँसिने र प्रशोधित खानेकुराभन्दा ताजा फलफूल तरकारी खाने गर्नु पर्दछ। नियमित चिकित्सकलाई दन्त परीक्षण गराउनु पर्दछ। अस्पतालमा आउँदा दाँत मुखका समस्या भएका बिरामीहरूले प्रायजसो सोध्ने प्रश्नको केही जवाफ दिँदैछु :
१. बिरामीले दिनमा दुई पटक दाँत माझेपनि दाँतमा फोहोर जमिरहन्छ भन्ने गुनासो गर्छन्। यसमा एउटा ब्रस गर्ने तरिका नमिलेर हुन सक्छ। जसका लागि दन्त चिकित्सकसँग दाँत माझ्ने र फ्लस गर्ने उपयुक्त विधि सिक्ने। साथै ब्रस गर्ने सही तरिका युट्युबमा समेत हेरेर सिक्न सकिन्छ। वयस्क सबैलाई उपयुक्त विधि मोडिफाइड बास मेथोड हो, जुन युट्युबमा सिक्न सकिन्छ।
दाँत नमिलेका र बाङ्गाटिङ्गा छन् भने पनि फोहोर अड्किने गर्दछ। त्यस्ता दाँत तारले बाँधेर मिलाउनु पर्दछ। मिलेकै दाँतमा तरिका मिलाएर दाँत माझ्दा पनि विस्तारै अलि अलि फोहोर जम्मा हुँदै लामो समयमा धेरै फोहोर जम्छ, जुन ब्रसले जाँदैन। त्यसलाई ६ महिना वा वर्ष दिनमा मेसिनद्वारा दन्त चिकित्सकबाट सफा गराउनु पर्दछ।
२. मेसिनले दाँत ब्रस गर्दा दाँत खिइन्छ, सिरिङ्ग–सिरिङ्ग हुन्छ, दाँत हल्लिन्छ, सफा गर्ने की नगर्ने भन्ने दुविधा पनि व्यापक रहन्छ। यसमा फोहोर जमेको छ भने खासै नसोची सफा नै गर्नुपर्छ भन्ने सुझाव दिन चाहन्छु। दाँतमा जमेको फोहोर हजारौ होइन लाखौँ गुणा हानिकारक हुन्छ। यसले गिजाबाट रगत आउने, दाँत खियाउने, गिजा तल सार्ने, मुख गन्हाउने, दाँतमा किरा लगाउने जस्तो धेरै समस्या निम्त्याउँछ। त्यही फोहोरले सुरु गरेको समस्या सफा गरेपछि केही समस्या आए जस्तो लोगेपनि त्यसले हानी गर्दैन।
३. दाँत निकाल्ने की जोगाउने भन्ने अर्को जिज्ञासा पनि बिरामीको हुन्छ। निकालेर बलियो दाँत हाल्छु भन्ने पनि धेरैले सोच्नु हुन्छ। त्यस्तो हुँदैन। सकेसम्म हाम्रो आफ्नो दाँत बचाउनु र जोगाउनु पर्दछ। आफ्नो दाँत जति बलियो कुनै पनि कृत्रिम दाँत हुँदैन।
४. दाँतमा खाल्डाहरु छन्। दुखाई छैन किन भर्ने भन्ने पनि बिरामीको प्रश्न हुन्छन्। दाँत दुख्नु भनेको धेरै नष्ट भइसक्नु हो। चिकित्सकले परीक्षण गर्दा किराले खाएको छ भने भर्न ढिला गर्नु हुँदैन।
५. दाँतको उपचारमा ग्यारेन्टी हुन्छ ? भन्ने धेरैको सोचाइ हुन्छ। दाँत शरीरको अंग हो। यसलाई हाम्रो खानपान, सरसफाई लगायत शरीरको समग्र स्वास्थ्यको समेत प्रभाव हुन्छ। त्यसले ग्यारेन्टी भन्ने त्यति जायज कुरा हुँदैन।
(डा पदम नेपाली हेटौँडा अस्पतालमा डेन्टल सर्जनका रुपमा कार्यरत छन्।)