काठमाडौं - सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवतीको मृत्यु भएको छ। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षिया झरना थापा मगरको उपचारका क्रममा मृत्यु भएको हो।
पाठेघरमा समस्या देखिएपछि चैत १ गते अस्पतालमा भर्ना भएकी उनको शुक्रबार मृत्यु भएको जनाइएको छ।शल्यक्रियाका क्रममा उनको मृत्यु भएपछि चिकित्सकको कमजोरीका कारण मृत्यु भएको आफन्तहरूले आरोप लगाएका छन्।
वडा नम्बर ३ का निवर्तमान वडा अध्यक्ष टेकबहादुर शाहले बिरामीको शरीरमा रगतको मात्रा कम हुँदा पनि चिकित्सकले शल्यक्रिया गरेका कारण मृत्यु भएको बताएका छन्। उनका अनुसार ती युवती भर्ना हुँदा शरीरमा १३ पिन्ट रगत थियो। तर शल्यक्रियाका क्रममा शरीरमा ५ पिन्ट मात्र रगत थियो।
ती युवतीको शल्यक्रिया डा जगदिश चन्द्र विष्टले गरेका हुन्। उपचारमा संलग्न डाक्टर विष्टले शल्यक्रियाकै कारण बिरामीको मृत्यु नभएको बताए।
उनले भने, ‘मृतक युवतीको पाठेघरबाट रगत बगेको देखिदैन। अन्यत्रबाट बगेको थाहा भएन। बिरामीमा अन्य रोगको समस्याले मृत्यु भएको हुन सक्छ जुन रोगबारे थाहा थिएन। तर अप्रेसनकै कारण मृत्यु भएको होइन।’
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हेमराज पाण्डेयले मृत्यु यकिन कारण बारे अहिले भन्न नसकिने बताए। विज्ञ टोलीको अनुसन्धानपछि मात्र मृत्युको कारण बारे भन्न सकिने बताए।
‘ठ्याक्कै कारण थाहा भएन। विज्ञ टोलीको अनुसन्धान पछि मात्र भन्न सकिन्छ। अप्रेसन गर्दा बिरामीको प्रेसर पनि कम रहेको थियो।’ उनले भने।