चितवन- नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घको २८औँ राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ। अधिवेशनको बागमती प्रदेशका कृषि तथा पशुपछी विकासमन्त्री केशवप्रसाद पोखरेलले उद्घाटन गरेका हुन्।
मन्त्री पोखरेलले औषधि तथा बिक्री प्रतिनिधि (एमआर) हरुको राज्यमा योगदान रहेको बताउँदै आवश्यक सहयोग गर्ने बताए। उनले श्रमका हिसाबले मात्रै नभएर सेवाका हिसाबले पनि एमआरहरुले काम गरिररहेको बताए।
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीले औषधि उत्पादकदेखि वितरक, एमआर, चिकित्सक सबैले एक अर्काको सहअस्तित्व स्वीकार्नुपर्ने बताए। उनले औषधि बिक्री वितरण गर्दा संघका सदस्यहरु जिम्मेवार हुनुपर्ने बताए।
उनले आफूहरु संघसँग सहकार्य गर्न तयार रहेको बताउँदै सस्तोमा औषधि बिक्री गर्ने नाममा नागरिकको स्वास्थ्यमा खेलबाड नगर्न आअग्रह गरे। साथै उनले महंगोमा औषधि बिक्री वितरण गर्नेलाई सरकारले कारबाही गर्नुपर्ने पनि बताए।
सङ्घको तथ्याङ्क अनुसार देशभर ६ हजारभन्दा बढी सदस्य छन्। नेपालमा १५० भन्दा बढी विदेशी र ९५ नेपाली औषधि कम्पनीका प्रतिनिधि कार्यरत छन्।
भोलिसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरका १४ ईकाईबाट ५०० प्रतिनिधि सहभागी छन्। महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ। अध्यक्ष एक, बरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, सचिव ३, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष एक र १४ ईकाईबाट एक एक जना सदस्य रहने व्यवस्था रहेको छ। दुई जना सदस्य भने समितिले मनोनयन गर्ने छ। समितिको कार्यकाल तीन वर्षको हुने छ।
महाधिवेशन तयारी समितिका संयोजक एवं नारायणगढ इकाई अध्यक्ष धर्मदत्त दवाडीका अनुसार महाधिवेशनको बन्द सत्रमा प्रगति र आर्थिक प्रतिवेदन पारित गरिनुका साथै भावी कार्यक्रमबारे छलफल गरिने छ।